हाइड्रेसन ब्रेकबाट फिफालाई एक डलर पनि थप रकम आउँदैन : फिफा अध्यक्ष इन्फान्टिनो

हाइड्रेसन ब्रेकबाट फिफालाई एक डलर पनि थप रकम आउँदैन : फिफा अध्यक्ष इन्फान्टिनो

एजेन्सी : विश्वकप फुटबल २०२६ मा खेलका दौरान खेलाडीहरूलाई पानी पिउनका लागि दिइने हाइड्रेसन ब्रेक थप पैसा कमाउने माध्यम भएको आरोपको फिफा अध्यक्ष जियानी इन्फान्टिनोले खण्डन गरेका छन्।

जुन २३ मा आयोजित एक कार्यक्रममा उनले यो निर्णय विशुद्ध रूपमा ‘खेलकुद र खेलाडीहरूको स्वास्थ्यसँग जोडिएको विषय’ भएको र यसबाट फिफालाई कुनै थप आम्दानी नहुने स्पष्ट पारेका हुन्।

फिफा अध्यक्ष इन्फान्टिनोका अनुसार विश्वकपका लागि व्यावसायिक तथा प्रसारण अधिकारसम्बन्धी सबै सम्झौताहरू यो ‘हाइड्रेसन ब्रेक’को निर्णय हुनुभन्दा धेरै पहिले नै भइसकेका थिए।

उनले भने, ‘इाड्रडेसन ब्रेक खेलाडीहरूको स्वास्थ्यसँग जोडिएको विषय हो। यसबाट फिफालाई एक डलर पनि अतिरिक्त आम्दानी हुँदैछ।’

सन् २०२५ को डिसेम्बरमा फिफाले अमेरिका, क्यानाडा र मेक्सिकोमा संयुक्त रूपमा आयोजना हुने ४८ टोलीको विश्वकपका प्रत्येक खेलमा ३ मिनेटको ‘हाइड्रेसन ब्रेक’ राख्ने घोषणा गरेको थियो।

तीन फरक देशका फरक-फरक मौसम र उचाइका कारण खेलाडीहरूलाई खेलका दौरान पानी पिउन र शरीरमा पानीको मात्रा सन्तुलित राख्न यो समय दिइएको हो।

फिफा आफैँले यसबाट प्रत्यक्ष रूपमा पैसा नकमाए पनि खेल प्रसारण गर्ने टेलिभिजन च्यानलहरूलाई भने फाइदा पुग्ने देखिन्छ।

च्यानलहरूले खेलको बीचमा पाइने ३ मिनेटको यस खाली समयमा थप विज्ञापन बजाएर आफ्नो आम्दानी बढाउन सक्नेछन्। फिफाले प्रतियोगिता सकिएपछि यस नियमको प्रभावको समीक्षा गर्ने र भविष्यका विश्वकपमा यसलाई निरन्तरता दिने वा नदिने भन्ने निर्णय गर्ने बताएको छ।

डिजिटल प्रविधितर्फ फिफाले फिफा कलेक्टजस्ता ब्लकचेन डिजिटल प्लेटफर्म सञ्चालन गरिरहेको र सन् २०२६ को सुरुवातमा नयाँ फ्यान टोकन ल्याउने विषयमा छलफल गरिरहेको भए पनि यस खेल-ब्रेक नीतिको क्रिप्टो वा डिजिटल सम्पत्तिसँग कुनै सम्बन्ध छैन।

यो ब्रेक विशुद्ध रूपमा खेलाडीहरूको स्वास्थ्य सुरक्षाका लागि मात्र लागू गरिएको फिफाले स्पष्ट पारेको छ।

असार ११, २०८३ बिहीबार १०:१७:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।