दक्षिण कोरियालाई हराउँदै दक्षिण अफ्रिका पहिलो पटक विश्वकपको नकआउट चरणमा
एजेन्सी : फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘ए’को निर्णायक खेलमा दक्षिण कोरियालाई १-० गोल अन्तरले पराजित गर्दै दक्षिण अफ्रिका इतिहासमै पहिलो पटक विश्वकपको नकआउट चरणमा प्रवेश गरेको छ।
मेक्सिकोको मोन्टेरे रंगशालामा भएको खेलमा दक्षिण अफ्रिकालाई ऐतिहासिक जित दिलाउन युवा विङ्गर थापेलो मासेकोले दोस्रो हाफमा निर्णायक गोल गरे।
खेलमा दक्षिण कोरियाली समर्थकहरूको बाहुल्यता रहे पनि दक्षिण अफ्रिकाले सुरुदेखि नै राम्रो प्रदर्शन गर्यो। पहिलो हाफमा दक्षिण अफ्रिकाका तर्फबाट भएका केही राम्रा प्रहारहरूलाई दक्षिण कोरियाका गोलरक्षक किम सुङग्युले उत्कृष्ट बचाउ गर्दै विफल पारिदिएका थिए।
दोस्रो हाफमा खेललाई आफ्नो पक्षमा पार्न दक्षिण कोरियाका प्रशिक्षक होङ म्युङबोले स्टार खेलाडी सन ह्युङमिन सहित तीन खेलाडीलाई मैदानमा पठाएका थिए। दक्षिण कोरियाले आक्रामक खेल खेलिरहेकै समयमा दक्षिण अफ्रिकाले काउन्टर अट्याकमा गोल गर्न सफल भयो।
वैकल्पिक खेलाडी तेसपाङ मोरेमीले बायाँ विङ्कबाट मिलाइदिएको पासलाई थापेलो मासेकोले नियन्त्रणमा लिँदै पहिलो बारमा प्रहार गर्दै उत्कृष्ट गोल गरे। २२ वर्ष २२५ दिनका मासेको विश्वकपमा दक्षिण अफ्रिकाका लागि गोल गर्ने दोस्रो सबैभन्दा कान्छा खेलाडी बनेका छन्।
यस जितसँगै दक्षिण अफ्रिका समूह ‘ए’मा ४ अंक जोड्दै उपविजेताका रूपमा अन्तिम ३२ मा पुगेको छ। अब दक्षिण अफ्रिकाले जुन २८ मा अमेरिकाको लस एन्जलसमा समूह ‘बी’को उपविजेता क्यानाडाको सामना गर्नेछ। पराजित दक्षिण कोरिया भने ३ अंकमात्र छ।
खेलपछि दक्षिण कोरियाका प्रशिक्षक होङ म्युङबोले निराशा व्यक्त गर्दै हारको जिम्मेवारी मुख्य प्रशिक्षकका रूपमा आफैँले लिने बताए।
अर्कोतर्फ, दक्षिण अफ्रिकाका मुख्य प्रशिक्षक ह्युगो ब्रुसले खुसी व्यक्त गर्दै भने, ‘यो भावनालाई शब्दमा व्यक्त गर्न गाह्रो छ। हामीले रणनीतिक रूपमा निकै राम्रो खेल्यौँ र कोरियालाई खुला ठाउँ बनाउन दिएनौँ। बितेका ५ वर्षमा हामीले गरेको मिहिनेतले आज नतिजा दिएको छ। हामी खेलाडी र प्रशिक्षक भन्दा बढी साथीजस्ता भएका छौँ, अब हामीले यस ऐतिहासिक पलको आनन्द लिनुपर्छ।’
असार ११, २०८३ बिहीबार ०९:०६:३८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।