चेकियामाथि सहज जितसँगै विश्वकपमा मेक्सिकोको नयाँ कीर्तिमान
एजेन्सी : फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘ए’को आफ्नो अन्तिम खेलमा आयोजक मेक्सिकोले चेकियालाई ३-० गोल अन्तरले पराजित गरेको छ।
मेक्सिकोको यो समूह चरणमा लगातार तेस्रो जित हो। यस हारसँगै चेकिया प्रतियोगिताबाट बाहिरिएको छ।
मेक्सिको यसअघि नै समूह 'ए' को विजेता बन्दै अन्तिम ३२ मा पुगिसकेको थियो। तर, चेकियालाई अघिल्लो चरण पुग्ने सम्भावना जीवितै राख्न यो खेल जित्नैपर्ने दबाब थियो।
खेलको सुरुवाती मिनेटमा चेकियाका खेलाडीहरू आक्रामक देखिएका थिए। खेलको आठौँ मिनेटमा डेनिस विसिन्स्कीको प्रहार गोलपोष्टको नजिकैबाट बाहिरिएको थियो।
सुरुमा केही दबाबमा देखिए पनि मेक्सिकोले बिस्तारै खेलमा आफ्नो लय समात्यो र पहिलो हाफ गोलरहित बराबरीमा सकियो।
दोस्रो हाफको ५५औँ मिनेटमा मेक्सिकोका माटेओ चाभेजले उत्कृष्ट गति दिँदै विपक्षी डिफेन्डरहरूलाई छक्याएर पहिलो गोल गरे। यो गोलसँगै मेक्सिको सिटी रंगशालामा उपस्थित हजारौँ समर्थकहरू खुसीले झुमेका थिए।
त्यसको ६ मिनेटपछि अर्थात् ६१औं मिनेटमा जुलियन क्विनोनेसले नजिकैबाट गोल गर्दै मेक्सिकोको अग्रता २-० बनाए।
खेल सकिन १२ मिनेट बाँकी छँदा मेक्सिकोका मुख्य प्रशिक्षक हाभियर अगुइरेले ४० वर्षीय गोलरक्षक गुइलेर्मो ओचोआलाई मैदान प्रवेश गराए।
खेलको इन्जुरी समयमा अल्भारो फिडाल्गोले मेक्सिकोका लागि तेस्रो गोल थपेपछि टोलीले ३-० को सानदार जित सुनिश्चित गर्यो।
मेक्सिकोले विश्वकपमा आफ्ना तीनै समूह चरणका खेलहरू जितेको यो पहिलोपटक हो। यसअघि सन् १९७० मा मेक्सिकोले समूह चरणका तीनमध्ये दुई खेलमा जित र एक गोलरहित बराबरी खेलेको थियो।
असार ११, २०८३ बिहीबार ०८:५९:४४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।