स्विट्जरल्यान्डले क्यानडालाई हरायो, तर दुवै टोली नकआउट चरण प्रवेश
एजेन्सी : विश्वकप फुटबल अन्तर्गत समूह 'बी' को अन्तिम खेलमा आयोजक क्यानाडालाई २-१ ले पराजित गर्दै स्विट्जरल्यान्ड समूह विजेताका रूपमा अन्तिम ३२ मा प्रवेश गरेको छ। क्यानाडाको भ्यानकुभरमा भएको खेलमा स्विट्जरल्यान्डलाई जिताउन रुबेन भार्गास र जोहान मन्जाम्बीले गोल गरे।
यस जितसँगै स्विट्जरल्यान्ड लगातार पछिल्ला चारवटै विश्वकपको नकआउट चरणमा पुग्न सफल भएको छ। यसअघि अर्जेन्टिना र फ्रान्सले मात्र यो सफलता प्राप्त गरेका थिए। अब स्विट्जरल्यान्डले आगामी जुलाई ३ मा समूह ई, एफ, जी, एच, आई वा जे मध्ये कुनै एक समूहको तेस्रो स्थानमा रहने टोलीसँग प्रतिस्पर्धा गर्नेछ।
पराजित भए पनि क्यानाडा इतिहासमै पहिलो पटक विश्वकपको नकआउट चरणमा प्रवेश गर्न सफल भएको छ। अघिल्ला खेलहरूमा बोस्नियासँग बराबरी खेलेको र कतारलाई पराजित गरेको क्यानाडा समूह 'बी' को उपविजेता बन्दै अघिल्लो चरण पुगेको हो।
तर, समूह विजेता बन्न नसक्दा जेसी मार्सको प्रशिक्षणमा रहेको क्यानाडाले घरेलु मैदानको फाइदा गुमाएको छ। अब क्यानाडाले आफ्ना बाँकी खेलहरू घरेलु मैदानमा खेल्न पाउने छैन। उसको आगामी खेल जुन २८ मा अमेरिकाको लस एन्जलसमा समूह 'ए' को उपविजेतासँग हुनेछ।
प्रतिस्पर्धात्मक रहेको खेलको पहिलो हाफमा कुनै गोल हुन सकेन। स्विट्जरल्यान्डका कप्तान ग्रानिट जाकाको यो १४९ औँ अन्तर्राष्ट्रिय खेल थियो। पहिलो हाफमा स्विट्जरल्यान्डका ब्रिल एम्बोलोको प्रहारलाई क्यानाडाका गोलरक्षक म्याक्सिम क्रेपोले बचाएका थिए।
दोस्रो हाफको सुरुवातमै स्विट्जरल्यान्डले उत्कृष्ट खेल प्रदर्शन गर्यो। खेलको ४६ औँ मिनेटमा जोहान मन्जाम्बीको क्रसमा रुबेन भार्गासले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाए। त्यसको ११ मिनेटपछि मन्जाम्बी आफैँले गोल गर्दै स्विट्जरल्यान्डको अग्रता २-० बनाए।
खेल सकिन १४ मिनेट बाँकी छँदा क्यानाडाका वैकल्पिक खेलाडी प्रमिस डेभिडले मैदान प्रवेश गरेको ७६ सेकेन्डमै गोल गर्दै खेललाई २-१ को स्थितिमा ल्याए। तर, क्यानाडाले खेलमा थप गोल फर्काउन सकेन र स्विट्जरल्यान्ड विजयी भयो।
असार ११, २०८३ बिहीबार ०७:४७:२८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।