रोमान्चक खेलमा मोरक्को विजयी, हैटीले एक अंक जोड्न पनि सकेन

रोमान्चक खेलमा मोरक्को विजयी, हैटीले एक अंक जोड्न पनि सकेन

एजेन्सी : विश्वकप फुटबल अन्तर्गत समूह 'सी' को अन्तिम खेलमा मोरक्कोले हैटीलाई पराजित गरेको छ।

अमेरिकाको एटलान्टामा भएको अत्यन्तै रोमान्चक खेलमा मोरक्कोले हैटीलाई ४-२ गोल अन्तरले हराउँदै अन्तिम ३२ मा आफ्नो स्थान सुरक्षित गरेको हो। यस हारसँगै विश्वकप इतिहासमा पहिलो अंक जोड्ने हैटीको सपना अधुरै रहन पुग्यो।

खेलमा हैटीले दुई पटक अग्रता लिए पनि मोरक्कोले उत्कृष्ट पुनरागमन गर्यो। खेलको १०औँ मिनेटमा हैटीका लेनी जोसेफको प्रहार मोरक्कोका गोलरक्षक यासिन बोनोलाई लाग्दै आत्मघाती गोल भएपछि हैटीले सुरुवाती अग्रता लिएको थियो। यो हैटीले ५२ वर्षपछि विश्वकपमा गरेको पहिलो गोल थियो।

खेलको ३९ औँ मिनेटमा मोरक्कोका स्टार डिफेन्डर अशरफ हाकिमीले गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याए।

तर, पहिलो हाफ सकिनु दुई मिनेट अगाडि हैटीका विल्सन इसिडोरले २५ यार्ड टाढाबाट उत्कृष्ट गोल गर्दै पुन: हैटीलाई २-१ को अग्रता दिलाए। पहिलो हाफकै अतिरिक्त समयमा मोरक्कोका इस्माइल साइबारीले गोल गरेपछि पहिलो हाफ २-२ को बराबरीमा सकियो।

दोस्रो हाफमा मोरक्कोले हैटीमाथि निरन्तर दबाब बनायो। खेल सकिन १२ मिनेट बाँकी छँदा सोफियाने राहिमीले गोल गर्दै मोरक्कोलाई ३-२ को अग्रता दिलाए। खेलको ८९ औँ मिनेटमा जेसिम यासिनले अर्को गोल थपेपछि मोरक्कोले ४-२ को रोमाञ्चक जित दर्ता गर्यो।

यस जितका बाबजुद मोरक्को समूह 'सी' मा दोस्रो स्थानमा रह्यो। अर्को खेलमा ब्राजिलले स्कटल्यान्डलाई पराजित गर्दै समूह विजेता बन्यो।

अब अन्तिम ३२ को चरणमा मोरक्कोले नेदरल्यान्ड्स, जापान वा स्विडेनमध्ये एक टोलीको सामना गर्नेछ। लगातार तीन खेलमा हार बेहोरेको हैटी भने अंकविहीन बन्दै समूहको पुछारमा रहेर प्रतियोगिताबाट बाहिरिएको छ।

दुई देशबीचको यो पहिलो ऐतिहासिक खेल हेर्न रंगशालामा ठूलो संख्यामा दर्शक उपस्थित थिए।

हैटी प्रतियोगिताबाट पहिल्यै बाहिरिइसकेको भए पनि उसका समर्थकहरूले खेल अवधिभर नाच्दै र गाउँदै आफ्नो टोलीको हौसला बढाएका थिए। मोरक्कोका समर्थकहरूले पनि उत्तिकै उत्साहका साथ आफ्नो टोलीको समर्थन गरेका थिए।

असार ११, २०८३ बिहीबार ०७:४१:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।