कतारमाथि बोस्नियाको जित, नकआउट चरण पुग्ने आशा जीवितै

कतारमाथि बोस्नियाको जित, नकआउट चरण पुग्ने आशा जीवितै

एजेन्सी : विश्वकप फुटबल अन्तर्गत समूह बीको आफ्नो अन्तिम खेलमा कतारलाई पराजित गर्दै बोस्निया-हर्जगोभिनाले इतिहासमै पहिलो पटक नकआउट (दोस्रो) चरणमा पुग्ने सम्भावना बलियो बनाएको छ।

कतारलाई ३-१ ले हराए पनि गोल अन्तरका आधारमा बोस्निया समूहमा तेस्रो स्थानमा रहन बाध्य भयो।

समान ४ अंक भए पनि गोल अन्तरमा आयोजक क्यानाडाभन्दा पछि परेपछि बोस्निया तेस्रो स्थानमा सीमित भएको हो।

यससँगै उसले सिधै अन्तिम ३२ मा पुग्ने अवसर गुमाए पनि उत्कृष्ट प्रदर्शन गर्ने तेस्रो स्थानका आठ टोलीभित्र परेर अघिल्लो चरण पुग्ने सम्भावना बलियो छ।

अर्कोतर्फ कतार भने मात्र १ अंक जोडेर समूहको अन्तिम स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरिएको छ।

अमेरिकाको सियाटलमा २९ डिग्री सेल्सियसको गर्मीबीच भएको खेलमा बोस्नियाले आक्रामक सुरुवात गर्यो।

खेलको २९औँ मिनेटमा १८ वर्षीय युवा खेलाडी केरिम अलाजवेगोभिचले दुई कतारी डिफेन्डरलाई छक्याउँदै उत्कृष्ट गोल गरी बोस्नियालाई सुरुवाती अग्रता दिलाए।

खेलको ३५ औँ मिनेटमा बोस्नियाका ४० वर्षीय कप्तान एडिन जेकोको प्रहार विपक्षी डिफेन्डरलाई लाग्दै आत्मघाती गोलमा परिणत भएपछि बोस्नियाले २-० को अग्रता लियो। यो खेल कप्तान जेकोको देशका लागि १५० औँ खेल थियो।

खेलको ४२ औँ मिनेटमा कतारका कप्तान हसन अल-हैदोसले गोल गर्दै खेललाई २-१ को स्थितिमा ल्याए। दोस्रो हाफमा कतारले खेल बराबरी गर्ने केही राम्रा अवसरहरू पाए पनि त्यसलाई सदुपयोग गर्न सकेन।

खेलको ८० औँ मिनेटमा मैदान प्रवेश गरेका वैकल्पिक खेलाडी एर्मिन महमिचले गोल गर्दै बोस्नियाको ३-१ को जित सुनिश्चित गरे।

बोस्नियाको विश्वकप इतिहासमा यो दोस्रो जित मात्र हो। यसअघि उसले सन् २०१४ को आफ्नो पहिलो विश्वकप सहभागितामा इरानलाई ३-१ ले पराजित गरेको थियो।

४ अंक जोडेको बोस्निया अघिल्लो चरण प्रवेश गर्ने बलियो सम्भावना भए पनि यसको आधिकारिक टुङ्गो लाग्न अन्य समूहका खेलहरूको नतिजा कुर्नुपर्नेछ।

असार ११, २०८३ बिहीबार ०७:३३:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।