ब्राजिलसँग पराजित भएपछि स्कटल्यान्डको विश्वकप यात्रा संकटमा

ब्राजिलसँग पराजित भएपछि स्कटल्यान्डको विश्वकप यात्रा संकटमा

एजेन्सी : विश्वकप फुटबल अन्तर्गत समूह 'सी' को अन्तिम खेलमा ब्राजिलसँग ३-० ले पराजित भएपछि स्कटल्यान्डको अघिल्लो चरण प्रवेश गर्ने सम्भावना कमजोर बनेको छ।

अघिल्लो चरण (अन्तिम ३२) मा पुग्न स्कटल्यान्डलाई यो खेलमा बराबरी मात्र गरे पनि पुग्ने समीकरण थियो। तर हारसँगै टोली समूहमा तेस्रो स्थानमा सीमित हुन पुगेको छ।

अब स्कटल्यान्डले अघिल्लो चरण प्रवेशका लागि अन्य समूहका खेलहरूको नतिजा कुर्नुपर्नेछ। तेस्रो स्थानमा रहने उत्कृष्ट आठ टोलीभित्र परेर अन्तिम ३२ मा छानिने आशा जीवितै राख्न स्कटल्यान्डले आइतबार बिहानसम्म प्रतीक्षा गर्नुपर्ने देखिन्छ।

खेल विश्लेषण गर्ने संस्था 'अप्टा' का अनुसार स्कटल्यान्डको छनोट हुने सम्भावना ४२ प्रतिशत मात्र छ। टोलीका मिडफिल्डर जोन म्याकगिन र मुख्य प्रशिक्षक स्टिभ क्लार्कले भने अघिल्लो चरण पुग्ने सम्भावना कम रहेको र टोली घर फर्किने अवस्थामा पुगेको संकेत गरेका छन्।

खेलको सुरुदेखि नै ब्राजिलले स्कटल्यान्डमाथि दबाब बनाएको थियो। खेलको पहिलो हाफमा ब्राजिलका स्टार खेलाडी भिनिसियस जुनियरले दुई गोल गरे। स्कटल्यान्डका रक्षापंक्तिका खेलाडी र गोलरक्षकको गल्तीको फाइदा उठाउँदै उनले ती गोल गरेका थिए।

दोस्रो हाफमा म्यानचेस्टर युनाइटेडका खेलाडी माटेउस कुन्हाले अर्को एक गोल थपेपछि ब्राजिलले ३–० को सहज जित दर्ता गर्यो। स्कटल्यान्डले खेलमा फर्कने केही प्रयास गरे पनि सफल हुन सकेन।

खेलपछि बीबीसी स्पोर्ट्ससँग कुरा गर्दै मिडफिल्डर जोन म्याकगिनले भने, ‘हामीले खराब समयमा सजिलै गोलहरू गुमायौँ। खेलाडीहरू दुःखी छन्, तर हामीले मैदानमा आफ्नो पूरा शक्ति लगाएका थियौँ। अब अघिल्लो चरणमा पुग्ने सम्भावना कमै छ, तैपनि हामी नतिजाको प्रतीक्षा गर्नेछौँ।’

मुख्य प्रशिक्षक स्टिभ क्लार्कले पनि निराशा व्यक्त गर्दै भने, ‘हामीले आफैँलाई अप्ठ्यारो स्थितिमा पुर्यायौँ। सजिलै गोल उपहार दिएर खेल प्रतिद्वन्द्वीको हातमा सुम्पियौँ। अत्यधिक गर्मी र ओसिलो मौसममा खेलाडीहरूले धेरै मिहिनेत गरे पनि यो स्तरको प्रतियोगितामा प्रतिस्पर्धा गर्न हामी अझै सुध्रिनुपर्छ। मलाई लाग्छ, अब हामी घर फर्कँदैछौँ।’

असार ११, २०८३ बिहीबार ०७:२५:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।