घानाका प्रशिक्षकको आक्रोश- ‘भीएआर कफी पिउन गएको थियो?’
एजेन्सी : विश्वकप फुटबल अन्तर्गत इङ्गल्याण्डविरुद्धको खेल गोलरहित बराबरीमा सकिए पनि घानाका मुख्य प्रशिक्षक कार्लो क्विरोजले भीएआरको भूमिकाप्रति कडा असन्तुष्टि व्यक्त गरेका छन्।
खेलको अन्तिम समयमा आफ्नो टोलीले पाउनुपर्ने स्पष्ट पेनाल्टी नदिएको भन्दै उनले आक्रोश पोखेका हुन्।
खेलको उत्तरार्धमा घानाका मिडफिल्डर प्रिन्स क्वाबेना अदु बल नियन्त्रणमा लिँदै इङ्गल्याण्डको डिबक्सभित्र छिरेका थिए।
सोही क्रममा इङ्गल्याण्डका डिफेन्डर एज़्री कोन्साले उनलाई लडाएका थिए। भिडियो रिप्लेमा कोन्साले बललाई नछोई अदुको घुँडामा प्रहार गरेको प्रष्ट देखिए पनि रेफ्रीले पेनाल्टीको इसारा गरेनन्।
खेलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रशिक्षक क्विरोजले व्यङ्ग्य गरे, ‘मलाई त शंका लाग्न थाल्यो, के यो विश्वकपमा भीएआरले काम गरिरहेको छ? सायद भीएआर कफी पिउन गएको थियो। त्यो स्पष्ट पेनाल्टी र रातो कार्ड पाउनुपर्ने घटना थियो। इङ्गल्याण्ड यस निर्णयमा निकै भाग्यमानी रह्यो।’
बीबीसीको स्टुडियोमा खेल हेरिरहेका फुटबल विश्लेषकहरूले पनि प्रशिक्षक क्विरोजको कुरामा सहमति जनाएका छन्।
इङ्गल्याण्डका पूर्व स्ट्राइकर वेन रुनीले भने, ‘मेरो विचारमा त्यो स्पष्ट पेनाल्टी थियो। कोन्साको खुट्टा हावामा थियो र उनले बललाई नभई खेलाडीलाई लडाएका थिए। यसमा इङ्गल्याण्ड जोगिएको हो।’
यस्तै, पूर्व डिफेन्डर माइकल रिचर्ड्स र सन् २०१० को विश्वकप फाइनलका सहायक रेफ्री ड्यारेन कानले पनि यो निर्णय इङ्गल्याण्डको पक्षमा जानु भाग्यको खेल भएको र त्यो स्पष्ट पेनाल्टी भएको धारणा राखे।
घरेलु लिगहरूमा यस्ता घटनामा भीएआरले तुरुन्तै हस्तक्षेप गर्ने भए पनि यस विश्वकपमा भने फिफाको नियम अलि फरक छ।
फिफाका रेफ्री प्रमुख पियरलुइजी कोलिनाका अनुसार मैदानमा रेफ्रीले लिने निर्णयहरूमा एकरूपता ल्याउनका लागि फाउलको मापदण्डलाई अलि उच्च राखिएको छ।
मैदानमा मुख्य रेफ्रीले खेललाई बग्न दिएको अवस्थामा भीएआरको हस्तक्षेप कम गर्ने फिफाको नीतिका कारण यस विवादित घटनामा भीएआर मौन रहेको बताइएको छ।
असार १०, २०८३ बुधबार ११:५७:१७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।