२०२८ को टी२० विश्वकपमा स्कटल्यान्ड सिधै छनोट हुने सम्भावना कायमै

२०२८ को टी२० विश्वकपमा स्कटल्यान्ड सिधै छनोट हुने सम्भावना कायमै

एजेन्सी : स्कटल्यान्डको टोली जारी टी-२० महिला विश्वकपको सेमिफाइनल दौडबाट बाहिरिए पनि टोलीका लागि आगामी खेलहरू अझै महत्त्वपूर्ण रहेका छन्।

सन् २०२८ मा पाकिस्तानमा आयोजना हुने आगामी टी-२० विश्वकपमा सिधै छनोट हुनका लागि स्कटल्यान्डले आफ्नो समूह चरणको अन्तिम खेलमा बलियो प्रदर्शन गर्नुपर्नेछ।

सन् २०२८ को विश्वकप पनि १२ टोलीबीच नै खेलाइनेछ। यस प्रतियोगितामा सिधै स्थान सुरक्षित गर्नका लागि जारी विश्वकपको दुवै समूहका शीर्ष चार-चारमा पर्नुपर्नेछ।

यसका अलावा आयोजकको रूपमा पाकिस्तान सिधै छनोट हुनेछ भने आईसीसीको वरीयता (६ जुलाई २०२६ सम्मको) का आधारमा अर्को एक शीर्ष टोली छानिनेछ। बाँकी दुई टोलीहरू ग्लोबल क्वालिफायरमार्फत छानिनेछन्।

हाल स्कटल्यान्ड आफ्नो समूहमा पाँचौँ स्थानमा छ। चौथो स्थानमा रहेको श्रीलंका र स्कटल्यान्डबिच नेट रन-रेटमा निकै कम अन्तर छ।

यदि आगामी खेलमा स्कटल्यान्डले श्रीलंकालाई पराजित गरेमा र अर्को खेलमा न्युजिल्यान्ड पराजित भएमा, स्कटल्यान्ड चौथो स्थानमा उक्लिन सक्छ। समूहमा चौथो स्थान हासिल गरेमा स्कटल्यान्डले आगामी विश्वकपका लागि कठिन छनोट खेलहरू खेल्नुपर्ने छैन।

यदि स्कटल्यान्ड चौथो स्थानमा पर्न सकेन भने वरीयताका आधारमा सिधै छनोट हुन निकै कठिन हुनेछ।

हाल आइसिसी वरीयतामा आयरल्यान्ड नवौँ, बंगलादेश १०औँ र स्कटल्यान्ड ११औँ स्थानमा छन्। पाकिस्तान आयोजकका रूपमा सिधै छनोट भइसकेकाले वरीयताका आधारमा केवल एउटा टोलीले मात्र सिधै प्रवेश पाउनेछ।

त्यसैले स्कटल्यान्डका लागि श्रीलंकाविरुद्धको आगामी खेल आगामी विश्वकपको यात्रा सहज बनाउनका लागि निकै निर्णायक मानिएको छ।

असार १०, २०८३ बुधबार ११:०९:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।