चार पटक बल जालीमा, तीन गोल अस्वीकृत : कंगोमाथि कोलम्बियाको रोचक जित
एजेन्सी : विश्वकप फुटबल २०२६ अन्तर्गत समूह ‘के’को खेलमा कोलम्बियाले प्रजातान्त्रिक गणतन्त्र कंगो (डिआर कंगो) लाई १-० गोल अन्तरले पराजित गरेको छ।
अत्यधिक रोमान्चक र नाटकीय बनेको खेलमा कुल चार पटक बलले जाली चुमे पनि तीन वटा गोलले मान्यता नपाउँदा कोलम्बियाले १-० को कठिन जितमा चित्त बुझाउनुपर्यो।
यस खेलमा मुख्य रेफ्री र भीएआरको निर्णय चर्चाको केन्द्रमा रह्यो। खेल अवधिभर भएका कुल ३ गोलमध्ये रेफ्रीले २ वटा गोललाई रद्द गरिदिएका थिए।
खेलको सुरुवातमै कोलम्बियाका डिफेन्डर ड्यानियल मुनोजले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। तर, भीएआरको सहयोगमा उक्त प्रहारलाई अफसाइड घोषित गरियो।
दोस्रो हाफमा स्ट्राइकर लुइस डियाजले उत्कृष्ट फिनिसिङका साथ बललाई पोस्टको दिशा दिएका थिए। तर, गोल गर्नुअघि उनले विपक्षी डिफेन्डरलाई धक्का दिएको (फाउल गरेको) भन्दै रेफ्रीले उक्त गोललाई पनि मान्यता दिएनन्।
दोस्रो गोल अस्वीकृत भएको दुई मिनेट नबित्दै बायर्न म्युनिखका स्ट्राइकर लुइस डियाजले पुनः उत्कृष्ट प्रहार गर्दै बललाई पोस्टको माथिल्लो कुनामा छिराए।
तर, कोलम्बियाली टोलीले खुसीयाली मनाउन नपाउँदै सहायक रेफ्रीले पुनः अफसाइडको झण्डा उठाए र यो गोल पनि अस्वीकृत भयो।
मुनोजको निर्णायक गोल
अनेकौँ प्रयास र अस्वीकृत गोलहरूका बिच खेलको ७६औं मिनेटमा भएको गोल नै निर्णायक साबित भयो।
स्ट्राइकर जोन कोर्डोभाको पासलाई सदुपयोग गर्दै ड्यानियल मुनोजले प्रहार गरेको बल डिफ्लेक्ट हुँदै गोलमा परिणत भएको थियो। मुनोजको यही गोल नै कोलम्बियालाई ३ अंक दिलाउन पर्याप्त बन्यो।
कोलम्बियाले बलमाथि ७० प्रतिशत नियन्त्रण राख्दै लगातार आक्रमण बुने पनि कंगोका गोलकिपर लियोनेल म्पासीले उत्कृष्ट बचाउहरू गरे।

उनले जेम्स रोड्रिगेज र लुइस डियाजका कयौँ कडा प्रहारहरू विफल पार्दै खेललाई लामो समयसम्म गोलरहित राखेका थिए।
खेलको अन्तिम समयमा डिआर कंगोले बराबरीका लागि निकै दबाब सिर्जना गरे पनि कोलम्बियाका गोलकिपर कामिलो भर्गास बाधक बने।
लगातार दोस्रो जितसँगै ६ अंक जोडेर कोलम्बिया समूह 'के' को शीर्ष स्थानमा छ भने पराजित कंगोको अघिल्लो चरण यात्रा कठिन बनेको छ।
असार १०, २०८३ बुधबार ०९:५८:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।