‘आई एम ब्याक!’ उज्वेकिस्तानविरुद्ध व्यक्तिगत दुई गोल गरेपछि आलोचकलाई रोनाल्डोको जवाफ

‘आई एम ब्याक!’ उज्वेकिस्तानविरुद्ध व्यक्तिगत दुई गोल गरेपछि आलोचकलाई रोनाल्डोको जवाफ
सबै तस्बिर- Imago

एजेन्सी : पोर्चुगलका ४१ वर्षीय स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले मंगलबार विश्वकप फुटबलमा नयाँ इतिहास रचे।उज्वेकिस्तानविरुद्धको खेलमा दुई गोल गर्दै रोनाल्डो ६ वटा फरक विश्वकप संस्करणमा गोल गर्ने विश्वकै पहिलो खेलाडी बने,

समूह चरणको पहिलो खेलमा कंगोसँग १-१ को बराबरी खेल्दा आलोचकहरूको निसानामा परेका रोनाल्डोले उज्वेकिस्तानलाई ५-० को भारी अन्तरले पराजित गरेपछि क्यामेराको अगाडि उभिएर ‘आई एम ब्याक! आई एम ब्याक!’भन्दै जवाफ दिए।

खेलको छैटौं मिनेटमा जोआओ कान्सेलोको क्रसमा उत्कृष्ट हाफ-भलीमार्फत गोल गर्दै रोनाल्डोले कीर्तिमानको खाता खोलेका थिए।

पहिलो हाफ सकिनुअघि ब्रुनो फर्नान्डेजको पासलाई सदुपयोग गर्दै उनले व्यक्तिगत दोस्रो गोल थपे। पहिलो हाफमै उनको प्रहार उज्वेकिस्तानका डिफेन्डरले गोललाइनबाट क्लियर नगरेको भए उनको ह्याट्रिक पूरा हुने थियो।

पाँच पटकका बेलन डी'ओर विजेता रोनाल्डोले आफ्ना आलोचकहरूलाई लक्षित गर्दै भने, ‘मैले आई एम ब्याक भन्नुको अर्थ आलोचकहरूले यो नबिर्सिऊन् कि म विगत २३ वर्षदेखि निरन्तर यसरी नै मैदानमा छु। व्यक्तिगत कीर्तिमानहरू राम्रा हुन्छन्, तर मेरो मुख्य उद्देश्य सधैँ टोलीलाई जिताउनु नै हो।’

खेल विज्ञ तथा प्रशिक्षकको प्रतिक्रिया
खेलपछि पोर्चुगलका प्रशिक्षक रोबर्टो मार्टिनेजले क्रिस्टियानो आफूहरुका लागि आदर्श भएको बताए। उनले भने, ‘उनी आफ्नो छैटौँ विश्वकप खेलिरहेका छन्। कठिन समयमा पनि उनी सधैँ कडा मिहिनेत गर्छन् र टिमका लागि मार्गदर्शक बन्छन्।’

इङ्गल्याण्डका पूर्व कप्तान वेन रुनीले ४१ वर्षको उमेरमा विश्वकपमा दुई गोल गर्नु अविश्वसनीय कुरा भएको भन्दै आलोचना हुँदा उनले सधैँ यसरी नै मैदानबाटै जवाफ दिने गरेको समेत स्मरण गरे।

पूर्व खेलाडी रोय किनले रोनाल्डो कतै नगएको भन्दै उनीसँग सबैथोक भएर पनि गोल गर्ने उनको भोक र चाहना साच्चिकै लोभलाग्दो भएको प्रतिक्रिया दिए।

क्रिस्टियानो रोनाल्डोका मुख्य कीर्तिमानहरू:
रोनाल्डो ६ वटा फरक विश्वकप (२००६, २०१०, २०१४, २०१८, २०२२ र २०२६) मा गोल गर्ने विश्वकै पहिलो खेलाडी (पुरुष र महिला दुवैतर्फ) बनेका छन्। लियोनेल मेसी, ब्राजिलकी मार्टा र क्यानडाकी क्रिस्टिन सिन्क्लेयरले ५ वटा विश्वकपमा गोल गरेका छन्।

४१ वर्ष १३८ दिनको उमेरमा गोल गर्दै उनी विश्वकप इतिहासमै दोस्रो सबैभन्दा बढी उमेरमा गोल गर्ने खेलाडी बनेका छन्। यो कीर्तिमान क्यामरुनका रोजर मिला (४२ वर्ष ३९ दिन) को नाममा छ।

रोनाल्डोले आफ्नो २४औं विश्वकप खेल पूरा गरेका छन्। उनीभन्दा बढी खेल मेसी (२८ खेल) र जर्मनीका लोथर म्याथ्युज (२५ खेल) ले मात्र खेलेका छन्।

रोनाल्डोको पहिलो विश्वकप गोल (सन् २००६) र पछिल्लो गोल (सन् २०२६) बिचको समय २० वर्ष ११ दिनको छ। यो कीर्तिमान उनले मेसीसँग साझेदारी गरेका छन्।

असार १०, २०८३ बुधबार ०९:०७:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।