घानाविरुद्ध इङ्गल्याण्डको बराबरी, पेनाल्टीको बलियो अपिलमा पनि भीएआर मौन
एजेन्सी : विश्वकप फुटबल अन्तर्गत घानाविरुद्धको खेलमा गोलरहितबराबरीमा रोकिएपछि दुवै टिमका समर्थकहरू निराश बनेका छन्।
तर, खेलको अन्तिम समयमा घानाले पाउनुपर्ने पेनाल्टी नपाउँदा इङ्गल्याण्ड सम्भावित पराजयबाट जोगिएको भन्दै बहस सुरु भएको छ।
मंगलबार राति भएको खेलको अन्तिम समयतिर घानाका मिडफिल्डर प्रिन्स अदु बल नियन्त्रणमा लिँदै इङ्गल्याण्डको पेनाल्टी बक्सभित्र प्रवेश गरेका थिए।

सोही क्रममा इङ्गल्याण्डका डिफेन्डर एज़्री कोन्साले उनलाई लडाएका थिए। भिडियो रिप्लेमा कोन्साले बललाई नछोई अदुको घुँडामा प्रहार गरेको स्पष्ट देखिए पनि मैदानका रेफ्रीले पेनाल्टी दिएनन्।
यस निर्णयप्रति फुटबल विश्लेषकहरूले आश्चर्य व्यक्त गरेका छन्।
इङ्गल्याण्डका पूर्व स्ट्राइकर वेन रुनीले बीबीसीसँग कुरा गर्दै भने, ‘मेरो विचारमा त्यो स्पष्ट पेनाल्टी थियो। कोन्साले ठुलो जोखिम लिएका थिए, उनले बललाई नभई खेलाडीलाई लडाएका हुन्।’
त्यस्तै, पूर्व डिफेन्डर माइकल रिचर्ड्स र सन् २०१० को विश्वकप फाइनलका सहायक रेफ्री ड्यारेन कानले पनि यो निर्णय इङ्गल्याण्डको पक्षमा जानुलाई भाग्यको खेल बताएका छन्।

भीएआरले किन हस्तक्षेप गरेन?
सामान्यतया प्रिमियर लिग वा अन्य खेलहरूमा यस्तो संवेदनशील घटनामा भिडियो असिस्टेन्ट रेफ्रीले हस्तक्षेप गरेर निर्णय सच्याउने गर्छ। तर, यस विश्वकपमा भीएआरको प्रयोग अलि फरक तरिकाले भइरहेको छ।
फिफाका रेफ्री प्रमुख पियरलुइजी कोलिनाका अनुसार मैदानमा मुख्य रेफ्रीले लिने निर्णयलाई बढी प्राथमिकता दिने नीति बनाइएको छ।

यदि मैदानमा रेफ्रीले सामान्य ट्याकलहरूलाई खेल अगाडि बढाउन अनुमति दिन्छन् भने, निर्णयहरूमा एकरूपता ल्याउन भीएआरको हस्तक्षेप पनि कम हुनुपर्ने फिफाको मान्यता छ।
यही विशेष नीतिका कारण यस विवादित घटनामा भीएआरले हस्तक्षेप नगरेको बताइएको छ।
असार १०, २०८३ बुधबार ०७:३५:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।