पनामामाथि क्रोएसियाको जित : नकआउट चरणको सम्भावना जीवितै, मोड्रिचको २००औँ खेल

पनामामाथि क्रोएसियाको जित : नकआउट चरणको सम्भावना जीवितै, मोड्रिचको २००औँ खेल

एजेन्सी : क्रोएसियाले क्यानडाको टोरन्टोमा भएको खेलमा पनामालाई पराजित गर्दै विश्वकपको समूह ‘एल’मा पहिलो अंक जोडेको छ। यो जितसँगै क्रोएसियाको अन्तिम ३२ मा पुग्ने सम्भावना कायम रहेको छ।

अब आउँदो शनिबार घानाविरुद्ध हुने खेलमा जित हात पारे क्रोएसिया अर्को चरणमा पुग्ने निश्चित हुनेछ। यसअघि घानाले इङ्गल्याण्डसँग ०-० को बराबरी खेलेको थियो।

खेलको दोस्रो हाफ सुरु भएको नवौँ मिनेटमा वैकल्पिक खेलाडीका रूपमा मैदान छिरेका एन्टे बुडिमिरले गरेको गोल नै क्रोएसियाका लागि निर्णायक बन्यो। पनामा भने समूह चरणका सुरुवाती दुवै खेल हार्दै प्रतियोगिताबाट बाहिरिएको छ।

खेलको पहिलो हाफ गोलरहित सकिएको थियो। पनामाको तीव्र गतिको आक्रमणले सन् २०१८ को उपविजेता क्रोएसियालाई पहिलो हाफमा निकै दबाबमा राखेको थियो।

त्यसपछि क्रोएसियाका प्रशिक्षक ज्लाट्को डालिकले दोस्रो हाफको सुरुवातमै आक्रामक रणनीति अपनाउँदै दुई खेलाडी परिवर्तन गरे।

प्रशिक्षकको यो निर्णय तुरुन्तै फलदायी बन्यो। ओसासुनाका फरवार्ड बुडिमिरले जोसिप स्टानिसीचको उत्कृष्ट क्रसलाई गोलमा परिणत गर्दै टोलीलाई अग्रता दिलाए।

यस जितसँगै क्रोएसियाका कप्तान लुका मोड्रिचको २००औँ अन्तर्राष्ट्रिय खेल स्मरणीय बनेको छ। ८१औँ मिनेटमा मैदानबाट बाहिरिएका ४० वर्षीय मोड्रिच पुरुष फुटबल इतिहासमा यो कोसेढुङ्गा पार गर्ने चौथो खेलाडी बनेका छन्।

खेलको दोस्रो हाफमा पनामाले बराबरी गर्ने केही राम्रा अवसरहरू पाएको थियो। तर क्रोएसियाका गोलकिपर डोमिनिक लिभाकोभिचले उत्कृष्ट बचाउ गर्दै पनामालाई गोल गर्नबाट रोके र टोलीको जित सुनिश्चित गरे।

असार १०, २०८३ बुधबार ०७:१२:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।