हालान्डको दुई गोलसँगै नर्वे विश्वकपको अन्तिम ३२ मा प्रवेश

हालान्डको दुई गोलसँगै नर्वे विश्वकपको अन्तिम ३२ मा प्रवेश

एजेन्सी : न्युजर्सीमा भएको रोमान्चक खेलमा सेनेगललाई पराजित गर्दै नर्वे विश्वकपको अन्तिम ३२ मा प्रवेश गरेको छ। नर्वेलाई जित दिलाउन स्टार स्ट्राइकर एर्लिङ हालान्डले दुई गोल गरे।

यस विश्वकपमा मात्र दुई खेल खेलेका म्यानचेस्टर सिटीका हालान्डले नर्वेका लागि विश्वकप इतिहासमै सबैभन्दा धेरै (४ गोल) गर्ने कीर्तिमान बनाएका छन्।

उनले नर्वेका लागि लगातार १२ औँ प्रतिस्पर्धी खेलमा गोल गरेका हुन्, जसमा पछिल्ला ६ खेलमा उनले प्रत्येक खेलमा कम्तीमा दुई गोल गरेका छन्।

खेलको पहिलो हाफको अन्त्यतिर बैकल्पिक डिफेन्डर मार्कस पेडेरसनले गोल गर्दै नर्वेलाई सुरुवाती अग्रता दिलाएका थिए। उनले सेनेगलका कप्तान कालिदु कुलिबालीको कमजोर डिफेन्सको फाइदा उठाउँदै गोल गरेका हुन्।

दोस्रो हाफको सुरुमै (४८औँ मिनेटमा) मार्टिन ओडेगार्डको उत्कृष्ट पासमा हालान्डले गोल गर्दै नर्वेको अग्रता दोब्बर बनाए।

त्यसपछि सेनेगलका इसमाइला सारले एक गोल फर्काउँदै खेललाई २-१ को स्थितिमा ल्याए। तर, त्यसको पाँच मिनेटमै हालान्डले उत्कृष्ट भली गोल गर्दै नर्वेलाई ३-१ को अग्रता दिलाए।

खेलको अतिरिक्त समयमा सेनेगलका सारले व्यक्तिगत दोस्रो गोल गरेपछि खेल निकै रोमान्चक बनेको थियो। अन्तिम सेकेन्डमा सारले बराबरी गर्ने मौका पाए पनि उनको हेड प्रहार गोलपोस्ट माथिबाट बाहिरियो र नर्वे ३-२ ले विजयी भयो।

लगातार दोस्रो जितसँगै नर्वे र फ्रान्स समूह 'आई' बाट अर्को चरणका लागि छनोट भएका छन्। सेनेगलले भने अर्को चरणमा पुग्ने सम्भावना जीवित राख्न समूहको अन्तिम खेलमा इराकलाई पराजित गर्नुपर्नेछ।

असार ९, २०८३ मंगलबार ०८:०९:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।