मौसमको कारण रोकिएर पुन: सुरू भएको खेलमा फ्रान्सको सहज जित, एम्बाप्पेको दुई गोल
एजेन्सी : फिलाडेल्फियामा खराब मौसमका कारण ढिलो गरी सम्पन्न खेलमा फ्रान्सले इराकलाई सहजै पराजित गरेको छ। फ्रान्सको जितमा स्टार स्ट्राइकर किलियन एम्बाप्पेले दुई गोल गरे।
यससँगै एम्बाप्पेले १६ खेलमा आफ्नो विश्वकप गोल संख्या १६ नै पुर्याउँदै इतिहासमै सबैभन्दा धेरै गोल गर्ने खेलाडीको सूचीमा संयुक्त रूपमा दोस्रो स्थानमा उक्लिएका छन्।
उनी लियोनेल मेस्सीभन्दा मात्र दुई गोलले पछि छन्, जसले केही घण्टाअघि मात्र मिरोस्लाभ क्लोजको कीर्तिमान तोडेका थिए।

चट्याङ र भारी वर्षाका कारण पहिलो हाफ सकिएपछि दोस्रो हाफको खेल सुरु हुन दुई घण्टाभन्दा बढी ढिलाइ भएको थियो। यो यस विश्वकपमा मौसमका कारण प्रभावित भएको पहिलो खेल हो।

खेलको १४औं मिनेटमा एम्बाप्पेले उत्कृष्ट प्रहार गर्दै फ्रान्सलाई सुरुवाती अग्रता दिलाएका थिए। पहिलो हाफको मध्यतिर इराकका कप्तान तथा मुख्य स्ट्राइकर आयमेन हुसेन चोटका कारण मैदानबाट बाहिरिएपछि इराकी टोली थप दबाबमा परेको थियो।
दोस्रो हाफमा इराकी गोलकिपर अहमद बासिलको गल्तीको फाइदा उठाउँदै एम्बाप्पेले ओस्मान डेम्बेलेको पासमा टोलीका लागि दोस्रो गोल गरे।

त्यसपछि खेलको तेस्रो गोल डेम्बेले आफैँले गरे, जसका लागि माइकल ओलिसले राम्रो पास उपलब्ध गराएका थिए। डेम्बेलेले फ्रान्सका लागि आफ्नो २०औँ खेलमा आएर ठूलो प्रतियोगितामा पहिलो गोल गर्न सफल भएका हुन्।
खेलको अन्तिम २० मिनेटमा इराकले गोल गर्ने केही राम्रा अवसर पाए पनि त्यसलाई सदुपयोग गर्न सकेन। अर्कोतर्फ, खेलको अन्त्यतिर एम्बाप्पेले पनि ह्याट्रिक गर्ने एउटा राम्रो मौका गुमाएका थिए।

यो जितसँगै ६ अंक जोडेको फ्रान्स समूह 'आई' को शीर्ष स्थानमा रहेको छ भने इराक अंकविहीन रहँदै तालिकाको पुछारमा छ। लगातार तेस्रो पटक विश्वकपको फाइनल पुग्ने लक्ष्य राखेको फ्रान्सले प्रतियोगितामा बलियो सुरुवात गरेको छ।
असार ९, २०८३ मंगलबार ०७:२८:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।