मेसीको नाममा कीर्तिमानको ओइरो : विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी बने
एजेन्सी : विश्व फुटबलका जादुगर लिओनल मेसीले फिफा विश्वकपको इतिहासमा सर्वाधिक गोल गर्ने सर्वकालीन नयाँ कीर्तिमान बनाएका छन्। अस्ट्रियाविरुद्धको खेलमा उत्कृष्ट प्रदर्शन गर्दै अर्जेन्टिनालाई उनले २-० को जित त दिलाए नै दुई गोल गरेर विश्वकप गोल संख्या १८ पुर्याए।
यसअघि अल्जेरियाविरुद्धको खेलमा सानदार ह्याट्रिक गर्दै मेसीले जर्मनीका दिग्गज स्ट्राइकर मिरोस्लाभ क्लोजको १६ गोलको कीर्तिमान बराबरी गरेका थिए। सोमबार रातिको खेलमा थप दुई गोल गरेपछि उनले क्लोजलाई स्पष्ट २ गोलले उछिनेर विश्वकपमा सर्वाधिक १८ गोल गर्ने एक्लो खेलाडीको कीर्तिमान आफ्नो नाममा पारे।
कीर्तिमानै कीर्तिमान
यति मात्रै हैन, ३८ वर्षका मेसीले विश्वकपको खेल खेले लगत्तै कीर्तिमानको ओइरो लाग्ने गरेको छ। सोमबार उनले विश्वकपमा सर्वाधिक गोलकर्ताको कीर्तिमान त बनाए नै। उनले अल्जेरिया विरुद्ध विश्वकप करियरकै पहिलो ह्याट्रिक गरेर विश्वकपमा ह्याट्रिक गर्ने सबैभन्दा पाका खेलाडी बने। यसअघि ३३ वर्षको उमेरमा क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरेका थिए।
अस्ट्रिया विरुद्ध २ गोलपछि उनी विश्वकपमा लगातार ६ खेलमा गोल गर्ने तेस्रो खेलाडी समेत बने। विश्वकपमा समूह चरणदेखि प्रिक्वाटरफाइनल, क्वाटरफाइनल, सेमिफाइनल र फाइनलसम्म सबै चरणमा गोल गर्ने खेलाडीको कीर्तिमान पनि उनकै नाममा बन्यो। उनको नाममा विश्वकपमा सबैभन्दा धेरै खेल खेल्ने रेकर्ड पनि छ।
असार ९, २०८३ मंगलबार ०१:२२:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।