विश्वकप २०२६ मा ‘रेड कार्ड’को वर्षा, समूह चरणको खेल नसकिँदै ८ खेलाडी मैदानबाट बाहिरिए

विश्वकप २०२६ मा ‘रेड कार्ड’को वर्षा, समूह चरणको खेल नसकिँदै ८ खेलाडी मैदानबाट बाहिरिए

काठमाडौं : फिफा विश्वकप २०२६ को सुरुवाती चरणमै खेलाडी अनुशासनको विषयलाई लिएर नयाँ बहस सुरू भएको छ।

प्रतियोगितामा अहिलेसम्म देखाइएको रेड कार्डको संख्याले अघिल्ला संस्करणहरूको कीर्तिमानलाई उछिन्ने संकेत गरेको छ।

हालसम्म मैदानबाट निष्कासन हुने खेलाडीको संख्या ८ पुगिसकेको छ, जुन सन् २०१८ र २०२२ को विश्वकपमा देखिएका कुल रेड कार्ड (४-४ वटा) को संयुक्त संख्या बराबर हो।

फक्स स्पोर्ट्सका अनुसार, आइतबार समूह ‘सी’ अन्तर्गत बेल्जियम र इरानबीच भएको खेलमा पछिल्लो रेड कार्ड देखाइएको थियो।

खेलको ६६औं मिनेटमा बेल्जियमका डिफेन्डर नाथन न्गोयले इरानका खेलाडी मेहदी तात्सुमीलाई गोल गर्ने स्पष्ट अवसरबाट रोक्ने क्रममा फउल गरेपछि सिधै रेड कार्ड पाएका थिए।

बेल्जियम १० खेलाडीमा सीमित भए पनि उक्त प्रतिस्पर्धात्मक खेल गोलरहित बराबरीमा टुङ्गिएको थियो।

यस विश्वकपमा देखाइएका ८ रेड कार्डमध्ये ६ वटा ‘सिधै रेड कार्ड’ हुनुले पनि खेलाडीहरूको बढ्दो आक्रामक शैली र मैदानमा रेफ्रीहरूको कडा निगरानीलाई दर्शाउने फक्स न्यूजले जनाएको छ।

रेड कार्ड पाउने चर्चित खेलाडीहरूमा पाराग्वेका मिगुएल अल्मिरोन पनि छन्, जसलाई टर्कीविरुद्धको खेलमा भिडियो सहायक रेफ्री (भीएआर)को पुनरावलोकनपछि मैदान बाहिर पठाइएको थियो।

त्यस्तै, क्यानडाविरुद्धको खेलमा कतारका असिम मादिबो र मोआज अहमद दुवै निष्कासित भएका थिए।

यसैगरी स्विट्जरल्यान्डका ब्रेल एम्बोलोलाई पेनाल्टी क्षेत्र नजिक गोल गर्ने स्पष्ट अवसरबाट वञ्चित गरेपछि बोस्निया एन्ड हर्जेगोभिनाका तारिक मुहरामोभिचले रेड कार्डको सामना गर्नुपरेको थियो भने जमैकाका वार हन्ट पनि दक्षिण अफ्रिकाविरुद्धको खेलको अन्तिम समयमा मैदानबाट बाहिरिएका थिए।

यस प्रतियोगितामा दक्षिण अफ्रिकी टोलीले पनि अनुशासनको ठूलो मूल्य चुकाएको छ। मेक्सिकोविरुद्धको उद्घाटन खेलमै दक्षिण अफ्रिकाका थेम्बा ज्वाने र स्पेफेलो सिथोले दुवैले रेड कार्ड पाएका थिए।

विश्वकप इतिहासमा एकै संस्करणमा सबैभन्दा धेरै रेड कार्ड देखाइएको कीर्तिमान सन् २००६ को नाममा छ, जहाँ कुल २१ खेलाडीले रेड कार्ड पाएका थिए (जसमा ९ वटा सिधै रेड कार्ड थिए)। यसैगरी सन् २०१० को विश्वकपमा १७ र सन् २०१४ मा १० खेलाडी निष्कासित भएका थिए।

प्रतियोगिता अझै प्रारम्भिक चरणमै रहेकाले आगामी खेलहरूमा रेड कार्डको यो ग्राफ अझै उकालो लाग्ने अनुमान गरिएको छ।

असार ८, २०८३ सोमबार ०९:२६:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।