सलाहको गोल र असिस्टमा विश्वकपको इतिहासमै इजिप्टको पहिलो जित
एजेन्सी : मोहमद सलाहको एक गोल र एक असिस्टको मद्दतले इजिप्टले न्युजिल्यान्डलाई ३-१ ले पराजित गर्दै विश्वकप इतिहासमा आफ्नो पहिलो जित दर्ता गरेको छ।
यो जितसँगै इजिप्ट पहिलो पटक विश्वकपको समूह चरण पार गर्ने बलियो स्थितिमा पुगेको छ।
खेलको पहिलो हाफमा न्युजिल्यान्डले सुरुवाती अग्रता लिएको थियो। १५औं मिनेटमा टिम पेनेको उत्कृष्ट कर्नर पासमा फिन सुरम्यानले हेडमार्फत गोल गर्दै न्युजिल्यान्डलाई अगाडि बढाएका थिए।
यसअघि इरानसँगको खेलमा पनि अग्रता जोगाउन नसकेको न्युजिल्यान्डले यस खेलमा पनि सोही गल्ती दोहोर्याउन पुग्यो।
दोस्रो हाफमा इजिप्टका प्रशिक्षक होसाम हसनले रणनीतिमा केही परिवर्तन गरेपछि टोलीले २४ मिनेटको अन्तरालमा तीन गोल फर्कायो।
खेलको ५८औं मिनेटमा मोहम्मद हानीको क्रसमा मोस्टफा जिकोले हेडमार्फत गोल गर्दै इजिप्टलाई १-१ को बराबरीमा ल्याए।

त्यसपछि मोहमद सलाहले डी-एरियाभित्र जिकोसँग उत्कृष्ट पास साटासाट गर्दै गोल पोस्टको तल्लो कुनामा बल छिराएर इजिप्टलाई २-१ को अग्रता दिलाए।
खेलको ८२औं मिनेटमा सलाहकै उत्कृष्ट कर्नर प्रहारमा वैकल्पिक खेलाडी ट्रेजेगेटले हेडमार्फत गोल गर्दै इजिप्टको ३-१ को जित सुनिश्चित गरे।
सन् १९३४ मा पहिलो पटक विश्वकप खेलेको इजिप्टको चारवटा विश्वकप सहभागितामा यो नै पहिलो जित हो। अब आगामी शनिबार हुने खेलमा इरानलाई पराजित गरेमा इजिप्ट समूह ‘जी’ को विजेता बन्नेछ।
अर्कोतर्फ, न्युजिल्यान्डले प्रतियोगितामा अगाडि बढ्नका लागि अब आफ्नो अन्तिम खेलमा बेल्जियमलाई पराजित गर्नुपर्ने दबाब सिर्जना भएको छ।
असार ८, २०८३ सोमबार ०९:१४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।