विश्वकपमा केप भर्डको सनसनीपूर्ण प्रदर्शन, पूर्व च्याम्पियन उरुग्वेलाई बराबरीमा रोक्यो
एजेन्सी : पहिलो पटक विश्वकप खेलिरहेको केप भर्डले दुई पटकको पूर्व विजेता उरुग्वेलाई २-२ को रोमाञ्चक बराबरीमा रोक्दै आफ्नो उत्कृष्ट यात्रा जारी राखेको छ।
अमेरिकाको मियामीमा भएको समूह 'एच' को खेलमा केप भर्डले बलियो प्रतिद्वन्द्वी उरुग्वेविरुद्ध निडर र आक्रामक खेल प्रदर्शन गर्यो।
आफ्नो पहिलो खेलमा स्पेनलाई बराबरीमा रोकेर विश्व फुटबललाई आश्चर्यमा पारेको केप भर्डले खेलको २१औँ मिनेटमा केभिन पिनाको उत्कृष्ट फ्रि-किक गोलमार्फत सुरुवाती अग्रता लिएको थियो।
तर, पहिलो हाफमै उरुग्वेका म्याक्सी अराउजो र अगस्टिन कानोबियोले गोल गर्दै टोलीलाई २–१ को स्थितिमा पुर्याए।
दोस्रो हाफमा उरुग्वेको रक्षापंक्तिको गम्भीर गल्तीको फाइदा उठाउँदै केप भर्डका हेलियो वारेलाले गोल गरेर खेललाई २-२ को बराबरीमा ल्याए।
खेलको अन्तिम समयमा उरुग्वेका फेडेरिको भाल्भर्डेले बललाई जाली चुमाए पनि त्यसलाई रेफ्रीले अफसाइड घोषित गरिदिएका थिए।
यो बराबरीसँगै दुवै खेलबाट समान २-२ अंक जोडेका उरुग्वे र केप भर्डको अघिल्लो चरण प्रवेश गर्ने सम्भावना कायमै छ।
हाल समूहको दोस्रो स्थानमा उरुग्वे र तेस्रो स्थानमा केप भर्ड रहेका छन्। अब समूह चरणको अन्तिम खेलमा केप भर्डले साउदी अरबको सामना गर्नेछ भने उरुग्वेले स्पेनसँग प्रतिस्पर्धा गर्नेछ।
असार ८, २०८३ सोमबार ०७:५८:०५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।