युवा डिफेन्डरको रेड कार्ड बेल्जियमलाई भारी, इरानको विश्पकपको इतिहासमै सुरुवाती दुई खेलमा अपराजित

युवा डिफेन्डरको रेड कार्ड बेल्जियमलाई भारी, इरानको विश्पकपको इतिहासमै सुरुवाती दुई खेलमा अपराजित

एजेन्सी : विश्वकप फुटबलमा बेल्जियमको अघिल्लो चरण प्रवेश गर्ने सम्भावना कमजोर बनेको छ। लस एन्जलसमा भएको खेलमा इरानको बलियो रक्षापंक्तिलाई तोड्न नसक्दा बेल्जियम गोलरहित बराबरीमा रोकिएको हो।

जारी विश्वकपमा बेल्जियमको यो लगातार दोस्रो बराबरी हो। यस नतिजासँगै टोली लगातार दोस्रो पटक विश्वकपको समूह चरणबाटै बाहिरिने खतरामा परेको छ।

खेलको सुरुवाती पाँच मिनेटमै बेल्जियमले गोल गर्ने सुनौलो अवसर पाएको थियो। तर केभिन डे ब्रुइनाको पासमा स्टार स्ट्राइकर रोमेलु लुकाकुले बललाई पोस्टको दिशा दिन सकेनन्।

सन् २०२५ को जून महिनापछि पहिलो पटक सुरुवाती टिममा परेका नेपोलीका स्ट्राइकर लुकाकु मैदानमा लय समात्न संघर्ष गरिरहेका देखिन्थे।

दोस्रो हाफमा बेल्जियमका युवा डिफेन्डर नाथन न्गोएले रेड कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। अर्कोतर्फ, इरानका गोलकिपर अलिरेजा बेइरानभान्डले केही उत्कृष्ट बचाउ गर्दै बेल्जियमको गोल गर्ने प्रयासलाई असफल तुल्याइदिए।

यो नतिजापछि समूह जीमा रहेको बेल्जियम दबाबमा परेको छ। अब समूह चरणको अन्तिम खेलमा न्युजिल्यान्डलाई पराजित गरेमा मात्र बेल्जियम अर्को चरणमा पुग्नेछ।

अर्कोतर्फ, अमेरिका यात्राको भिसा तथा अन्य प्राविधिक समस्याका कारण खेल हुनुभन्दा एक दिनअघि मात्र अमेरिका आइपुगेको इरानका लागि भने यो ऐतिहासिक नतिजा हो। विश्वकपका सुरुवाती दुई खेलमा अपराजित रहेको इरानको इतिहासमा यो पहिलो पटक हो।

‘गोल्डेन जेनेरेसन’को फिक्का प्रदर्शन
विगत एक दशकदेखि बेल्जियमलाई विश्वकपको बलियो दाबेदार मानिँदै आएको थियो।

एडन हाजार्ड, रोमेलु लुकाकु, केभिन डे ब्रुइना र भिन्सेन्ट कोम्पनी जस्ता विश्वप्रसिद्ध खेलाडीहरू सम्मिलित यो टोलीलाई बेल्जियमको 'गोल्डेन जेनेरेसन' (स्वर्ण पुस्ता) भनिन्थ्यो। तर, यो टोलीले आशाअनुरूप सफलता पाउन सकेन।

सन् २०१४ यता बेल्जियमले खेलेका ६ वटा ठूला अन्तर्राष्ट्रिय प्रतियोगितामध्ये केवल एक पटक मात्र सेमिफाइनलसम्मको यात्रा तय गर्न सकेको छ।

आइतबारको खेलमा ३३ वर्षीय लुकाकु र ३४ वर्षीय डे ब्रुइनाको प्रदर्शनमा उमेर र चोटको असर स्पष्ट देखिन्थ्यो। दुवै खेलाडी चोटका कारण लामो समय मैदान बाहिर रहेकाले पूर्ण रूपमा फिट देखिएनन्।

खेल विश्लेषक तथा फ्रान्सका पूर्व खेलाडी प्याट्रिक भिएराले भने, ‘बेल्जियमको सबैभन्दा ठूलो समस्या नै उनीहरूका दुई मुख्य खेलाडी पूर्ण रूपमा फिट नहुनु हो। खेलमा लुकाकुको प्रदर्शन निकै फितलो देखियो।’

यस्तै, पूर्व फुटबलर रोय किनले पनि खेलको समग्र स्तर निकै कमजोर रहेको टिप्पणी गरे।

असार ८, २०८३ सोमबार ०७:५०:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।