फिफा विश्वकप २०२६ : ट्युनिसियामाथि जापानको ४-० को फराकिलो जित
काठमाडौं : फिफा विश्वकपको ऐतिहासिक १००० औं खेलमा एसियाली राष्ट्र जापानले अफ्रिकन राष्ट्र ट्युनिसियामाथि ४-० को फराकिलो जित दर्ता गरेको छ।
मेक्सिकोको मोन्टेरे स्टेडियममा आइतबार बिहान भएको समूह 'एफ' को खेलमा जित निकालेसँगै जापानले नकआउट चरणमा पुग्ने सम्भावनालाई निकै बलियो बनाएको छ।
खेल अवधिभर जापानले आफ्नो दबदबा कायम राख्यो। खेलको चौथो मिनेटमै केइतो नाकामुराको पासमा दाइची कामाडाले गोल गर्दै जापानलाई सुरुवाती अग्रता दिलाए। ३१औं मिनेटमा कोउ इताकुराको पासलाई सदुपयोग गर्दै आयासे उएडाले गोल गरेपछि पहिलो हाफमै जापान २-० ले अघि रह्यो।
खेलको ६९औं मिनेटमा जुन्या इटोले तेस्रो गोल थपे। ८३औं मिनेटमा आयासे उएडाले व्यक्तिगत दोस्रो गोल गर्दै जापानलाई ४-० को फराकिलो जित दिलाए।
खेलको अन्तिम समयमा जापानका प्रशिक्षकले आफ्ना मुख्य खेलाडीहरूलाई आराम दिएका थिए। ट्युनिसियाले खेलमा फर्कने केही प्रयास गरे पनि जापानी डिफेन्स र गोलकिपर जायोन सुजुकीले त्यसलाई सफल हुन दिएनन्।
पहिलो खेलमा नेदरल्यान्ड्ससँग २-२ को बराबरी खेलेको जापानले यो जितसँगै २ खेलबाट ४ अंक जोडेको छ। समान ४ अंक नै रहेको नेदरल्यान्ड्ससँग अब जापानले गोल अन्तरका आधारमा समूह विजेता बन्नका लागि प्रतिस्पर्धा गर्नेछ।
लगातार दोस्रो हार व्यहोरेको ट्युनिसिया प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ। ट्युनिसिया पहिलो खेलमा स्वीडेनसँग ५-१ ले पराजित भएको थियो।
जापान र ट्युनिसिया २००२ पछि विश्वकपमा पुनः आमनेसामने भएका हुन्। त्यतिबेला जापानले ट्युनिसियालाई २–० ले हराएको थियो।
असार ७, २०८३ आइतबार १२:१२:२० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।