इक्वेडर र कुराकाओबीच गोलरहित बराबरी, कान्सास सिटी स्टेडियममा दुवै टोलीले बाँडे अंक

इक्वेडर र कुराकाओबीच गोलरहित बराबरी, कान्सास सिटी स्टेडियममा दुवै टोलीले बाँडे अंक

काठमाडौं : जारी फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘ई’को खेलमा इक्वेडर र कुराकाओले गोलरहित बराबरी खेलेका छन्। 

आइतबार बिहान कान्सास सिटी स्टेडियममा भएको खेलमा निर्धारित समय र थप गरिएको ५ मिनेटको अतिरिक्त समयमा समेत गोल हुन नसकेपछि खेल ०-० को बराबरीमा टुङ्गियो। 

बराबरीसँगै दुवै टोलीले समूह चरणमा पहिलो अंक जोडेका छन्। यद्यपि, दुवैका लागि नकआउट चरणमा पुग्ने सम्भावना जीवित रहे पनि स्थिति कठिन बनेको छ। यसअघि पहिलो खेलमा इक्वेडर आइभरी कोस्टसँग १-० ले र कुराकाओ जर्मनीसँग ७-१ को फराकिलो अन्तरले पराजित भएका थिए।

विश्वकपमा डेब्यु गरिरहेको कुराकाओका लागि भने यो बराबरी ऐतिहासिक बनेको छ। जर्मनीसँग हार बेहोरेको कुराकाओले दोस्रो खेलमा बलियो इक्वेडरलाई रोक्दै विश्वकपमा आफ्नो पहिलो अंक जोड्न सफल भयो। 

इक्वेडरले गोलका लागि अवसरहरू सिर्जना गरे पनि कुराकाओका गोलकिपर एलोय रुमको उत्कृष्ट बचाउका कारण खेल बराबरीमा रोकिन पुग्यो।

समूह ‘ई’मा लगातार दुई खेल जितेको जर्मनी ६ अंकसहित यसअघि नै नकआउट चरणमा प्रवेश गरिसकेको छ। आइभरी कोस्ट ३ अंकसहित दोस्रो स्थानमा छ भने समान १-१ अंक जोडेका इक्वेडर र कुराकाओ क्रमशः तेस्रो र चौथो स्थानमा छन्। 

असार ७, २०८३ आइतबार ०९:०७:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।