मुख छोपेकै कारण अल्मिरोनलाई रेड कार्ड, १० खेलाडीमा सीमित पराग्वेसँग पराजित हुँदै टर्की विश्वकपबाट बाहिरियो

मुख छोपेकै कारण अल्मिरोनलाई रेड कार्ड, १० खेलाडीमा सीमित पराग्वेसँग पराजित हुँदै टर्की विश्वकपबाट बाहिरियो

एजेन्सी : फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘डी’को रोमाञ्चक खेलमा पराग्वेले टर्कीलाई १-० ले पराजित गरेको छ।

यो पराजयसँगै लगातार दुई खेल हारेको टर्की विश्वकपबाट बाहिरिएको छ भने पराग्वेको नकआउट (अन्तिम ३२) मा पुग्ने सम्भावना जीवितै रहेको छ। १० खेलाडीमा सीमित पराग्वेले टर्कीको लगातारको आक्रमणलाई उत्कृष्ट ढङ्गले रोक्दै महत्वपूर्ण जित दर्ता गर्यो।

खेल सुरु भएको ६५ सेकेन्डमै पराग्वेका मिडफिल्डर माटियस गालार्जाले बक्स बाहिरबाट उत्कृष्ट प्रहार गर्दै गोल गरे। जारी विश्वकपमा यो अहिलेसम्मकै सबैभन्दा चाँडो भएको गोल हो र खेलको अन्त्यमा यही गोल नै पराग्वेका लागि निर्णायक साबित भयो।

खेलको पहिलो हाफको अतिरिक्त समयमा एउटा अनौठो घटना भयो। पराग्वेका विङ्गर मिगुएल अल्मिरोनले टर्कीका डिफेन्डर मर्ट मुल्डुरसँगको भनाभनका क्रममा आफ्नो हातले मुख छोपेका थिए।

विश्वकपअगाडि लागू गरिएको नयाँ नियमअनुसार रेफ्री इभान बार्टोनले भिडियो असिस्टेन्ट रेफ्रीको सहयोगमा अल्मिरोनलाई सिधै रातो कार्ड देखाए।

विश्वकपको इतिहासमा विपक्षी खेलाडीसँगको विवादका क्रममा मुख छोपेकै कारण रातो कार्ड पाउने अल्मिरोन पहिलो खेलाडी बनेका छन्।

टर्कीको दुर्भाग्य र फितलो प्रहार
यसअघि पराग्वे अमेरिकासाग ४-१ र टर्की अस्ट्रेलियासँग २-० ले पराजित भएका थिए। त्यसैले दुवै टोलीका लागि यो खेल निकै महत्त्वपूर्ण र तनावपूर्ण थियो।

टर्कीले पहिलो हाफमा आक्रामक खेल खेल्दै १२ पटक गोलको प्रयास गरे पनि एउटा मात्र प्रहार लक्ष्यमा पुर्याउन सक्यो। टर्कीका मुल्डुरको एउटा हेडर प्रहार डिफ्लेक्ट हुँदै गोलपोस्टको क्रसबार र पोल दुवैमा ठोक्किएर बाहिरिएको थियो।

अल्मिरोन बाहिरिएपछि दोस्रो हाफमा पराग्वे १० खेलाडीमा सीमित भयो।

टर्कीले दबाब झनै बढाए पनि पराग्वेका गोलकिपर ओर्लान्डो गिलले उत्कृष्ट बचाउ गर्दै टर्कीलाई रोके। उनले मेरिह डेमिरल र क्यान उजुनको प्रहारलाई विफल तुल्याए। टर्कीका वैकल्पिक खेलाडी डेनिज गुलले नजिकैबाट गोल गर्ने सुनौलो अवसर गुमाएका थिए।

टर्कीले पहिलो खेलमा अस्ट्रेलियाविरुद्ध ३० पटक र यस खेलमा ३२ पटक गोलको प्रयास गरे पनि जारी प्रतियोगितामा अहिलेसम्म एउटा पनि गोल गर्न सकेको छैन।

यो हारसँगै टर्की समूह चरणबाटै बाहिरिने निश्चित भएको छ। अर्कोतर्फ, पराग्वेले समूह चरणको अन्तिम खेलमा अस्ट्रेलियालाई पराजित गरेमा नकआउट चरणमा आफ्नो स्थान सुरक्षित गर्नेछ।

असार ६, २०८३ शनिबार ११:१२:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।