पराग्वे-टर्की खेल : ६५ सेकेन्डमै गालार्जाको कीर्तिमानी गोल, नयाँ निमय अुनसार पहिलो हाफमै अल्मिरोनलाई ‘रेड कार्ड’

पराग्वे-टर्की खेल : ६५ सेकेन्डमै गालार्जाको कीर्तिमानी गोल, नयाँ निमय अुनसार पहिलो हाफमै अल्मिरोनलाई ‘रेड कार्ड’

एजेन्सी : फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘डी’को रोमाञ्चक खेलमा पराग्वेले टर्कीविरुद्ध पहिलो हाफमा १-० को अग्रता बनाएको छ।

खेलको सुरुवातमै गोल गरेर अग्रता लिएको पराग्वे पहिलो हाफको अन्त्यतिर आफ्ना महत्वपूर्ण खेलाडी मिगुएल अल्मिरोनले रातो कार्ड पाएपछि १० खेलाडीमा सीमित भएको छ।

खेल सुरु भएको ६५औं सेकेन्डमै पराग्वेका माटियस गालार्जाले करिब २५ यार्ड टाढाबाट उत्कृष्ट प्रहार गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए।

यो गोल सन् १९९८ को विश्वकपमा पराग्वेका सेल्सो आयलाले नाइजेरियाविरुद्ध ५२ सेकेन्डमा गोल गरेयता विश्वकपको इतिहासमा कुनै पनि दक्षिण अमेरिकी टोलीले गरेको सबैभन्दा चाँडो गोल हो।

गोल गरेको केही मिनेटमै (चौथो मिनेटमा) गालार्जाले टर्कीका युनुस आक्गुनलाई लडाएपछि पहेँलो कार्ड समेत पाएका थिए।

सुरुवाती गोल ब्यहोरेपछि टर्कीले खेलमा पकड जमाउँदै झन्डै ८० प्रतिशत बल आफ्नो नियन्त्रणमा राखेको थियो। तर, पराग्वेको रक्षापंक्ति निकै मजबुत देखिएकाले टर्कीले गोलका ठोस अवसरहरू सिर्जना गर्न सकेन।

टर्कीका स्टार खेलाडी अर्दा गुलरले प्रहार गरेको बल क्रसबार माथिबाट बाहिरियो भने कप्तान हाकान चाल्हानोग्लुको प्रहारलाई पराग्वेका डिफेन्डर डिएगो गोमेजले उत्कृष्ट ब्लक गरे।

पहिलो हाफको इन्जुरी टाइम निकै तनावपूर्ण रह्यो। मैदानमा खेलाडीहरूबीच सामान्य विवाद भएपछि भिडियो असिस्टेन्ट रेफ्रीले खेलमा हस्तक्षेप गर्यो।

रेफ्रीले मोनिटरमा रिप्ले हेरेपछि टर्कीका मर्ट मुल्डुरसँग विवादमा उत्रिएका पराग्वेका स्टार विङ्गर मिगुएल अल्मिरोनलाई सिधै रातो कार्ड देखाउँदै मैदान बाहिर पठाए।

विपक्षीसँगको विवादको अवस्थामा मुख छोप्ने कुनै पनि खेलाडीलाई रातो कार्डको सजाय हुनसक्ने नयाँ नियम अनुसार उनलाई रेड कार्ड दिइएको हो। यससँगै पराग्वे पहिलो हाफको अन्त्यमै १० खेलाडीमा खुम्चिन पुग्यो।

पहिलो हाफमा आक्रामक खेल, खेलाडीहरूबीचको टकराव र रातो कार्डका कारण खेल निकै रोमाञ्चक मोडमा पुगेको छ। १-० ले पछि परे पनि दोस्रो हाफमा टर्कीसामु एक खेलाडी बढी हुनुको फाइदा उठाउने अवसर रहनेछ।

असार ६, २०८३ शनिबार ०९:५०:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।