ब्राजिलको सहज जित, विश्वकपबाट बाहिरिने पहिलो टोली बन्यो हाइटी

ब्राजिलको सहज जित, विश्वकपबाट बाहिरिने पहिलो टोली बन्यो हाइटी

एजेन्सी : म्यानचेस्टर युनाइटेडका फरवार्ड म्याथियस कुन्हाको दुई गोलको मद्दतले ब्राजिलले हाइटीमाथि सहज जित दर्ता गरेको छ। यो पराजयसँगै हाइटी सन् २०२६ को विश्वकपबाट बाहिरिने पहिलो टोली बनेको छ।

पहिलो खेलमा मोरक्कोसँग बराबरी खेलेपछि आलोचना खेपेको प्रशिक्षक कार्लो एन्सेलोटीको ब्राजिलियन टोलीले यस खेलमा उत्कृष्ट प्रदर्शन गर्यो। फिलाडेल्फियामा भएको यस जितसँगै ब्राजिल समूह 'सी' को शीर्ष स्थानमा पुगेको छ।

खेलको २३औँ मिनेटमा म्याथियस कुन्हाले पहिलो गोल गर्दै ब्राजिललाई अग्रता दिलाए। हाइटीका डिफेन्डर ह्यानेस डेलक्रोइक्सले क्लियर गर्न खोजेको बल कुन्हासँग ठोक्किएर गोलपोस्टभित्र छिरेको थियो।

खेलको ३६औँ मिनेटमा भिनिसियस जुनियरको चलाखीपूर्ण पासमा कुन्हाले उत्कृष्ट प्रहार गर्दै व्यक्तिगत दोस्रो गोल गरे।

पहिलो हाफको अतिरिक्त समयमा पूर्व वेस्टह्याम मिडफिल्डर लुकास पाक्वेटाको पासमा रियल मड्रिडका स्टार भिनिसियस जुनियरले गोल गर्दै ब्राजिललाई ३-० को अग्रता दिलाए। जारी विश्वकपमा भिनिसियसको यो दोस्रो गोल हो।

ब्राजिलका लागि खेलको एकमात्र निराशाजनक पक्ष बार्सिलोनाका विङ्गर राफिन्हाको चोट रह्यो। उनी पहिलो हाफमै चोटका कारण मैदानबाट बाहिरिन बाध्य भए र उनको स्थानमा बोर्नमाउथका रायन मैदान प्रवेश गरे।

दोस्रो हाफमा हाइटीका रिकार्डो एडेको बलियो हेडर प्रहारलाई ब्राजिलियन गोलकिपर एलिसन बेकरले उत्कृष्ट बचाउ गरे।

खेलको अन्त्यतिर युवा खेलाडी एन्ड्रिकले आफ्नो विश्वकप डेब्युमा गोल गरे पनि रेफ्रीले त्यसलाई अफसाइड घोषित गरिदिएका थिए।

असार ६, २०८३ शनिबार ०८:२८:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।