स्कटल्यान्डविरुद्ध ७० सेकेन्डमै मोरक्कोको गोल, दुई पटक पेनाल्टी विवाद

स्कटल्यान्डविरुद्ध ७० सेकेन्डमै मोरक्कोको गोल, दुई पटक पेनाल्टी विवाद

एजेन्सी : विश्वकप फुटबल अन्तर्गत समूह ‘सी’को खेलमा स्कटल्यान्डले मोरक्कोसँग १-० को पराजय ब्यहोरेको छ।

खेल सुरु भएको ७० सेकेन्डमै गोल खानु र दुई-दुई पटक पेनाल्टीको दाबीलाई रेफ्रीले अस्वीकार गर्नु स्कटल्यान्डका लागि उल्टो सावित भयो।

पहिलो पटक ऐतिहासिक नकआउट चरणमा पुग्ने लक्ष्य राखेको स्कटल्यान्डको यात्रामा यो हारले ठूलो धक्का पुर्याएको छ। यद्यपि सम्भावना भने सकिएको छैन।

बोस्टन रंगशालामा खेल सुरू भएको ७० सेकेन्डमै स्कटल्यान्डका डिफेन्डर ग्रान्ट हान्लीले गल्ती गर्न पुगे। त्यसैको फाइदा उठाउँदै मोरक्कोका इस्माइल साइबारीले उत्कृष्ट गोल गर्दै आफ्नो टोलीलाई सुरुवाती अग्रता दिलाए।

यो सुरुवाती झट्कापछि पहिलो हाफमा स्कटल्यान्ड निकै दबाबमा देखियो र खेलमा फर्कन निकै संघर्ष गर्नुपऱ्यो।

दोस्रो हाफमा स्कटल्यान्डले खेलमा फर्कने प्रयास गर्दा पेनाल्टीका दुईवटा ठूला निर्णयहरू विवादमा परे।

खेलको ४९औं मिनेटमा स्कटल्यान्डका जोन म्याकगिनलाई मोरक्कोका निल एल आयनावीले बक्सभित्र लडाएका थिए। स्कटल्यान्डका खेलाडीहरूले पेनाल्टीको माग गरे पनि रेफ्रीले त्यसलाई सामान्य ट्याकल भन्दै अस्वीकार गरिदिए।

८२औं मिनेटमा पनि नेपोलीका मिडफिल्डर स्कट म्याकटोमिनेलाई पुनः बक्सभित्र तिनै एल आयनावीले लडाए। यसपटक पनि स्कटल्यान्डले पेनाल्टीको कडा माग गर्यो तर रेफ्रीले वास्ता गरेनन्।

यस विषयमा टिप्पणी गर्दै पूर्व खेलाडी रोय किनले म्याकटोमिने आफैँ लड्न खोजेको भन्दै त्यो पेनाल्टी नभएको बताएका थिए।

एउटा बल पनि टारगेटमा प्रहार हुन सकेन
खेलको ६४औं मिनेटमा स्कटल्यान्डले खेललाई बराबरीमा ल्याउने सुनौलो अवसर पाएको थियो।

म्याकटोमिनेको सुन्दर पासमा रायन क्रिस्टीले प्रहार गरेको बल क्रसबार माथिबाट आकासियो। खेलको अन्त्यतिर म्याकटोमिने र लिन्डन डाइक्सले पनि गोल गर्ने प्रयास गरेका थिए।

यस खेलमा निर्णयहरू स्कटल्यान्डको पक्षमा नआए पनि खेलभरि स्कटल्यान्डले विपक्षीको पोष्टतर्फ एउटा पनि 'टारगेट' प्रहार गर्न नसक्नु उसको मुख्य कमजोरी रह्यो।

यो हारपछि पनि स्कटल्यान्डको विश्वकप सपना समाप्त भइसकेको छैन।

अघिल्लो चरण प्रवेशको सम्भावना जीवितै राख्नका लागि स्कटल्यान्डले जुन २४ मा मियामीमा हुने बलियो टोली ब्राजिलविरुद्धको अन्तिम समूह खेलमा उत्कृष्ट खेल प्रदर्शन गर्दै अंक जोड्नै पर्ने दबाब सिर्जना भएको छ।

असार ६, २०८३ शनिबार ०७:३४:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।