विश्वकप खेल्ने पहिलो सिख खेलाडी बने सरप्रित सिंह

विश्वकप खेल्ने पहिलो सिख खेलाडी बने सरप्रित सिंह

एजेन्सी :  न्युजिल्याण्डका २७ वर्षीय मिडफिल्डर सरप्रित सिंह विश्वकप फुटबल खेल्ने पहिलो ‘सिख’ खेलाडी बनेका छन्। न्युजिल्याण्डले इरानसँग २-२ को बराबरी खेलेको पहिलो खेलमा मैदान प्रवेश गर्दै उनले यो कीर्तिमान बनाएका हुन्।

उनले आफ्नो विश्वकप यात्राले दक्षिण एसियाली मूलका अन्य खेलाडीहरूका लागि पनि विश्वको सबैभन्दा ठूलो मञ्चमा पुग्ने बाटो खोल्ने विश्वास व्यक्त गरे।

क्यालिफोर्नियामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने, ‘यो मेरो, मेरो परिवार र मेरो समुदायका लागि निकै ठूलो कुरा हो। पहिलो खेलाडी बन्न पाउँदा म निकै खुसी छु र यसले भविष्यमा आउने अन्य खेलाडीहरूका लागि बाटो खोल्नेछ।’

भारतले हालसम्म विश्वकप फुटबल खेल्न सकेको छैन। सन् १९५० मा ब्राजिलमा भएको विश्वकपका लागि भारत छनोट भएको भए पनि आर्थिक समस्याका कारण अन्तिम समयमा उसले प्रतियोगिताबाट नाम फिर्ता लिएको थियो।

यद्यपि, यसपटक उत्तर अमेरिकामा भइरहेको विश्वकपमा भारतीय मूलका अन्य केही खेलाडीहरूले फरक देशबाट प्रतिनिधित्व गरिरहेका छन्।

जसमा अस्ट्रेलियाका फरवार्ड निशान भेलुपिल्ले (जसकी आमा दक्षिण भारतीय मूलकी हुन्) र कतारका विङ्गर तहसिन जमसिद सामेल छन्।

केही वर्षअघि भारतमा भएको एक प्रतियोगितामा खेल्दा त्यहाँका दर्शकहरूले आफूलाई ठूलो समर्थन गरेको सिंहले स्मरण गरे। उनले भने, ‘मैले न्युजिल्याण्डसँगै उनीहरूको पनि प्रतिनिधित्व गरिरहेको महसुस गर्छु, त्यसैले मैदानमा सधैँ आफ्नो उत्कृष्ट दिने प्रयास गर्छु।’

न्युजिल्याण्डले अब आइतबार भ्यानकुभरमा हुने समूह ‘जी’ को दोस्रो खेलमा इजिप्टको सामना गर्दै छ। न्युजिल्याण्ड यस खेलमा आफ्नो पहिलो विश्वकप जित दर्ता गर्ने लक्ष्यका साथ मैदान उत्रनेछ।

असार ५, २०८३ शुक्रबार १४:००:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।