नकआउट चरणमा प्रवेश गर्ने पहिलो टोली बन्यो मेक्सिको, दक्षिण अफ्रिका पराजित
एजेन्सी : आयोजक देशमध्येको एक मेक्सिको सन् २०२६ को विश्वकप फुटबलको नकआउट चरणमा पुग्ने पहिलो टोली बनेको छ।
ग्वाडलाजारामा भएको प्रतिस्पर्धात्मक खेलमा दक्षिण कोरियालाई १-० गोल अन्तरले पराजित गर्दै मेक्सिकोले अन्तिम ३२ मा आफ्नो स्थान सुरक्षित गरेको हो।
खेलको ५०औं मिनेटमा मेक्सिकोका मिडफिल्डर लुइस रोमोले गरेको गोल नै निर्णायक सावित भयो।
दक्षिण कोरियाका गोलकिपर किम सेउङ-ग्यु आफ्नै टोलीका डिफेन्डर ली गी-ह्युकसँग ठोक्किएर बल हातबाट फुत्किएपछि, रोमोले खाली पोस्टमा सहजै गोल गरेका थिए।
खेलको ८७औं मिनेटमा दक्षिण कोरियाले बराबरी गर्ने उत्कृष्ट अवसर पाएको थियो।
चो ग्यु-सुङको प्रहारलाई मेक्सिकोका गोलकिपर राउल रंगेलले उत्कृष्ट बचाउ गरे भने त्यसपछिको रिवाउन्डमा याङ ह्युन-जुनको प्रहारलाई पनि उनले गोल हुन दिएनन्।
यसअघि, कोरियाली कप्तान सन ह्युङ-मिनले गोलकिपर रंगेलमाथिबाट प्रहार गरेको बललाई मेक्सिकोका एड्सन अल्भारेजले गोललाइनबाट क्लियर गरेका थिए। यद्यपि, टोटनह्यामका पूर्व फरवार्ड सन सो प्रहार अघि नै अफसाइड घोषित भइसकेका थिए।
पहिलो हाफमा फितलो प्रदर्शन गरेपछि घरेलु दर्शकबाट ओलोचना (बू) खेपेको मेक्सिकोले दोस्रो हाफमा सुधारिएको प्रदर्शन गर्यो।
७५औं मिनेटमा राहुल जिमेनेजको प्रहार र खेलको अन्तिम समयमा वैकल्पिक खेलाडी ओबेद भार्गासको सशक्त प्रहारलाई कोरियाली गोलकिपर किमले बचाएका थिए।
यो जितसँगै प्रशिक्षक जाभियर एगिरेको टोली मेक्सिकोले विश्वकपमा आफ्नो विजयी यात्रा कायम राखेको छ। बिहीबार हुने समूह चरणको अन्तिम खेलमा चेक गणतन्त्रसँग बराबरी वा जित हात पारे मेक्सिको समूह ‘ए’ को विजेता बन्नेछ।
यदि मेक्सिको समूह विजेता बनेमा उसले आफ्नो अन्तिम ३२ र अन्तिम १६ का खेलहरू घरेलु मैदान मेक्सिको सिटीमै खेल्नेछ। जहाँ उसको भेट थोमस टुचेलको प्रशिक्षणमा रहेको इङ्गल्याण्डसँग हुन सक्ने सम्भावना रहनेछ।
पराजित भए पनि दक्षिण कोरियाको अघिल्लो चरण प्रवेश गर्ने सम्भावना अझै बलियो छ। पहिलो खेलमा चेक गणतन्त्रलाई पराजित गरेको कोरियाले अब बिहीबार मोन्टेरेमा दक्षिण अफ्रिकाको सामना गर्नेछ।
असार ५, २०८३ शुक्रबार ०८:५७:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।