ऐतिहासिक जितमा चोटको पीडा : क्यानडाद्वारा कतार ६-० ले पराजित, प्रशिक्षकका आँखामा आँसु

ऐतिहासिक जितमा चोटको पीडा : क्यानडाद्वारा कतार ६-० ले पराजित, प्रशिक्षकका आँखामा आँसु

एजेन्सी : इस्माइल कोनेको गम्भीर चोटका कारण क्यानडाका प्रशिक्षक जेसी मार्सका आँखामा आँसु आए।

नौ खेलाडीमा सीमित कतारलाई ६-० ले पराजित गर्दै क्यानडाले विश्वकपमा आफ्नो पहिलो ऐतिहासिक जित त दर्ता गर्यो, तर कोनेको चोटले त्यो खुसीलाई केही ओझेलमा पारिदियो।

खेलको दोस्रो हाफमा क्यानडा ३-० ले अघि रहेको र मैदानमा एक खेलाडी बढी भएको अवस्थामा यो दुःखद घटना भएको थियो।

कतारका आसिम ओमेर मादिबो र कोने बल खोस्ने क्रममा एकापसमा ठोक्किएका थिए। चोट गम्भीर देखिएपछि खेल लामो समय रोकियो र कोनेलाई स्ट्रेचरमा राखेर मैदानबाहिर लगियो।

मादिबोलाई सुरुमा पहेँलो कार्ड देखाइएको थियो, तर भिडियो असिस्टेन्ट रेफ्री (भीएआर)को सहयोगमा त्यसलाई रेड कार्डमा बदलियो।

क्यानेडियन समर्थकहरूले उनको नाम लिइरहँदा, पूर्व वाटफोर्ड मिडफिल्डर कोने स्ट्रेचरमै बसेर समर्थकहरूलाई हात हल्लाउन सफल भए। उनलाई पेनकिलर दिइँदै थियो।

क्यानडा अब नकआउट चरणमा पुग्ने सम्भावना बलियो छ, तर कोनेको चोट अन्तिम ३२ भन्दा अगाडि बढ्ने उसको योजनाका लागि ठूलो धक्का हुन सक्छ।

यो दुःखद घटनाबाहेक खेल क्यानडाका लागि ऐतिहासिक रह्यो। खेलको १६औँ मिनेटमा काइल लारिनले गोल गर्दै क्यानडालाई सुरुवाती अग्रता दिलाए। त्यसको १३ मिनेटपछि जोनाथन डेभिडले गोल गर्दै अग्रता दोब्बर बनाए।

खेलको ३३औं मिनेटमा ताजोन बुकाननमाथि खराब फल गरेपछि कतारका होमाम एल अमिनले रेड कार्ड पाए र कतार १० खेलाडीमा सीमित भयो। पहिलो हाफको अतिरिक्त समयमा डेभिडले व्यक्तिगत दोस्रो गोल गरेपछि क्यानडा ३-० ले अघि रह्यो।

दोस्रो हाफमा कोनेको चोटले खेललाई प्रभावित पार्यो। खेलको ६३औँ मिनेटमा नाथन सालिबाले फ्रि-किकमार्फत चौथो गोल गर्दा उनले घाइते मिडफिल्डर कोनेको जर्सी समर्थकहरूलाई देखाएका थिए, जसलाई दर्शकहरूले ताली बजाएर स्वागत गरे।

खेल सकिन १५ मिनेट बाँकी छँदा कतारका मोहम्मद अल मान्नाईले आत्मघाती गोल गरेपछि क्यानडा ५-० ले अघि बढ्यो। इन्जुरी समयमा डेभिडले आफ्नो ह्याट्रिक पूरा गर्दै क्यानडाको ६-० को शानदार जित सुनिश्चित गरे।

६ गोलको विशाल जितसँगै क्यानडा समूह 'बी' को शीर्ष स्थानमा छ। उसको र स्विट्जरल्याण्डको समान अंक भए पनि गोल अन्तरमा क्यानडा तीन गोलले अगाडि छ।

असार ५, २०८३ शुक्रबार ०७:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।