मैदान छिरेको ३ मिनेटमै २० वर्षीय मन्जाम्बीको जादु, स्विट्जरल्याण्डको शानदार जित

मैदान छिरेको ३ मिनेटमै २० वर्षीय मन्जाम्बीको जादु, स्विट्जरल्याण्डको शानदार जित

एजेन्सी : वैकल्पिक खेलाडी जोहान मन्जाम्बीको दुई गोलको मद्दतमा स्विट्जरल्याण्डले बोस्निया-हर्जगोभिनालाई ४-१ ले पराजित गरेको छ। खेलको अन्तिम २० मिनेटमा रोमाञ्चक प्रदर्शन गर्दै स्विट्जरल्याण्ड विश्वकपको अन्तिम ३२ को नजिक पुगेको छ।

मैदान प्रवेश गरेको २ मिनेट ४६ सेकेन्डमै मन्जाम्बीले खेलको ७४औँ मिनेटमा पहिलो गोल गरे। पेनाल्टी एरियामा उपलब्ध बललाई पहिलो प्रहारमै भलीमार्फत गोल गर्दै उनले स्विट्जरल्याण्डलाई अग्रता दिलाए। २० वर्षीय खेलाडीले मैदान छिरेपछि बल छोएको यो चौथो पटक मात्र थियो।

२० वर्ष २४७ दिनको उमेरमा, पुरुष विश्वकपमा वैकल्पिक खेलाडीको रूपमा दोहोरो गोल गर्ने मान्जम्बी सबैभन्दा कान्छा खेलाडी हुन्।

बोस्नियाका तारिक मुहरेमोभिचले गोल गर्ने स्पष्ट अवसरमा रहेका ब्रिल एम्बोलोलाई लडाएपछि उनले सिधै रातो कार्ड पाए र बोस्निया १० खेलाडीमा सीमित भयो। त्यसपछि रुबेन भार्गासले उत्कृष्ट घुमाउरो प्रहार गर्दै स्विट्जरल्याण्डको अग्रता दोब्बर बनाए।

खेलको ९०औँ मिनेटमा भार्गासकै पासमा मन्जाम्बीले व्यक्तिगत दोस्रो गोल गरे। त्यसपछि इन्जुरी समयमा जिब्रिल सोलाई अमर मेमिचले लडाएपछि प्राप्त पेनाल्टीलाई ग्रानिट जाकाले गोलमा परिणत गरे।

खेलको अन्तिम समयमा बोस्नियाका लागि एर्मिन माहमिचले कर्नरबाट आएको बललाई उत्कृष्ट भलीमार्फत गोल गर्दै एक सान्त्वना गोल फर्काए।

खेलपछि मन्जाम्बीले भने, ‘यो मेरो खेल जीवनको अहिलेसम्मकै उत्कृष्ट क्षण हुन सक्छ। हामीलाई थाहा थियो कि हाम्रो सुरुवात किन राम्रो हुन सकेन र हामीले धैर्यता राख्नुपर्ने थियो। हामी राम्रो टोली हौँ र आज हामीले त्यो प्रमाणित गर्यौँ।’

मन्जाम्बीले गोल गर्नुअघि स्विट्जरल्याण्ड फितलो फिनिसिङ र बोस्नियाको बलियो रक्षापंक्तिका कारण समस्यामा देखिएको थियो। खेलको सुरुवाती समयमा ड्यान एन्डोएले केही राम्रा अवसरहरू पाए पनि गोल गर्न सकेनन् र पछि उनको स्थानमा मन्जाम्बी मैदान प्रवेश गरेका थिए।

दोस्रो हाफको मध्यतिर भएको हाइड्रेशन ब्रेकपछि बोस्नियाको खेलको गति केही कमजोर देखियो। बोस्नियाका अनुभवी स्ट्राइकर एडिन जेको आफ्नो दोस्रो विश्वकपको पहिलो खेल खेलिरहेका थिए। उनी टोलीका लागि मुख्य खतरा बने पनि गोल गर्न सकेनन् र ६४औँ मिनेटमा मैदानबाट बाहिरिए।

यो जितसँगै ४ अंक जोडेर स्विट्जरल्याण्ड समूह 'बी' को शीर्ष स्थानमा उक्लिएको छ भने बोस्निया १ अंक र माइनस तीन गोल अन्तरका साथ समूहको पुछारमा रहेको छ।

असार ५, २०८३ शुक्रबार ०७:२५:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।