दक्षिण अफ्रिका र चेक गणतन्त्रबीचको खेल बराबरीमा सकियो

दक्षिण अफ्रिका र चेक गणतन्त्रबीचको खेल बराबरीमा सकियो

एजेन्सी : टेबोहो मोकोएनाले खेलको ८३औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेपछि विश्वकप फुटबलमा दक्षिण अफ्रिकाले चेक गणतन्त्रसँग १-१ को बराबरी खेलेको छ।

खेल सुरु भएको ५ मिनेट ७ सेकेन्डमै चेक गणतन्त्रका मिखाल साडिलेकले उत्कृष्ट प्रहार गर्दै गोल गरेका थिए। यो यस प्रतियोगिताकै सबैभन्दा चाँडो भएको गोल हो।

आफ्नो पहिलो खेलमा मेक्सिकोविरुद्ध पनि खेलको सुरुवातमै गोल खाएको दक्षिण अफ्रिकाले बिस्तारै खेलमा लय समात्ने प्रयास गरेको थियो।

तर, उनीहरूलाई गोल गर्ने अवसर सिर्जना गर्न निकै संघर्ष गर्नुपर्यो र खेलको ७४औँ मिनेटमा मात्र उनीहरूले पहिलो पटक विपक्षीको पोस्टतर्फ प्रहार गर्न सके।

खेल सकिन १० मिनेटभन्दा कम समय बाँकी छँदा दक्षिण अफ्रिकाले पेनाल्टीको अवसर पायो। थापेलो मासेकोको प्रहार चेक गणतन्त्रका डिफेन्डर पाभेल सुल्कको हातमा लागेपछि दक्षिण अफ्रिकालाई पेनाल्टी दिइएको थियो।

उक्त पेनाल्टीलाई मोकोएनाले बिनाकुनै गल्ती पोस्टको देव्रे कुनातिर प्रहार गर्दै गोलमा परिणत गरे र खेल बराबरीमा ल्याए।

यो बराबरीले दुवै टोलीलाई खासै ठूलो फाइदा पुगेको छैन र नकआउट चरणमा पुग्ने उनीहरूको सम्भावना अझै अनिश्चित बनेको छ। समूह 'ए' मा मेक्सिको र दक्षिण कोरिया अंक तालिकाको माथिल्लो स्थानमा छन्।

यद्यपि, तेस्रो स्थानमा रहने उत्कृष्ट आठ टोलीहरू पनि अन्तिम ३२ मा पुग्ने नियम भएकाले र केवल तीन अंक भए पनि अघिल्लो चरण प्रवेशका लागि पर्याप्त हुन सक्ने हुनाले, दुवै टोलीका लागि समूहको अन्तिम खेल निकै महत्त्वपूर्ण हुनेछ।

अब समूहको अन्तिम खेलमा बिहीबार, २५ जुनमा नेपाली समयअनुसार बिहान पौने ८ बजे  दक्षिण अफ्रिकाले दक्षिण कोरियाको सामना गर्नेछ भने सोही समयमा चेक गणतन्त्रले आयोजक मेक्सिकोसँग खेल्नेछ।

असार ५, २०८३ शुक्रबार ०७:१५:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।