भीषण गर्मीबाट बच्न सन् २०२७ देखि आईपीएल अगाडि नै सुरू गर्ने बीसीसीआईको तयारी

भीषण गर्मीबाट बच्न सन् २०२७ देखि आईपीएल अगाडि नै सुरू गर्ने बीसीसीआईको तयारी

एजेन्सी : भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई)ले अत्यधिक गर्मी र मौसमको प्रतिकूलताबाट खेलाडी तथा दर्शकलाई जोगाउन सन् २०२७ को सिजनदेखि इन्डियन प्रिमियर लिग (आईपीएल) साविकभन्दा अगाडि नै सुरु गर्ने तयारी गरेको छ।

सामान्यतया आईपीएल मार्चको अन्त्यतिर सुरू भई मे महिनाको अन्त्य वा जुनको सुरुमा सकिने गर्दछ।

तर, बीसीसीआईका सचिव देवजित सैकियाका अनुसार अब आगामी २०२७ को २० औं संस्करणदेखि प्रतियोगिता मार्च १० आसपास सुरू गरेर मे १५ भित्रै सम्पन्न गर्ने योजना बनाइएको छ।

मे १५ पछि भारतमा अत्यधिक गर्मी बढ्ने र प्रि-मनसुनका कारण वर्षाको सम्भावना हुने भएकाले खेल प्रभावित हुने डर रहन्छ।

सचिव सैकियाले भने, ‘मैले खेलाडी र प्रशंसकहरूबाट अत्यधिक गर्मीका कारण खेल्न र खेल हेर्न गाह्रो भएको धेरै गुनासाहरू सुनेको छु। सबै खेलाडीहरू यति धेरै गर्मीमा खेल्न अभ्यस्त हुँदैनन्। त्यसैले अनुकूल वातावरण सिर्जना गर्न हामी मे १५ भित्रै प्रतियोगिता सक्न चाहन्छौँ।’

यसका लागि भारतको घरेलु क्रिकेट सिजनलाई पनि केही अगाडि नै सक्नुपर्ने चुनौती बीसीसीआईसामु छ। सामान्यतया र्चसम्म चल्ने रणजी ट्रफी लगायतका घरेलु खेलहरूलाई केही छोट्याएर मार्च १० अगावै सक्ने गरी गृहकार्य भइरहेको उनले जानकारी दिए।

यसैबीच, आईपीएलमा १० टोली सहभागी भएसँगै खेलहरूको संख्या ७४ बाट बढाएर ९४ पुर्याउने चर्चा चले पनि तत्काल त्यसो गर्न सम्भव नरहेको सचिव सैकियाले प्रष्ट पारेका छन्।

अन्तर्राष्ट्रिय क्रिकेट तालिका निकै व्यस्त रहने र अन्य देशका खेलाडीहरूको व्यस्तताका कारण तत्काल दुई महिनाभन्दा लामो विन्डो (समय) पाउन कठिन हुने उनको भनाइ छ।

अस्ट्रेलिया, इङ्गल्याण्ड, न्युजिल्याण्ड, दक्षिण अफ्रिका र वेस्ट इन्डिज जस्ता देशहरूको द्विपक्षीय खेल तालिकालाई असर नगर्ने गरी हाललाई खेल संख्या ७४ मै सीमित राखिने उनले बताए।

असार ४, २०८३ बिहीबार १३:०९:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।