कोलम्बिया : २०२२ को विश्वकपमा छनोटै भएन, अहिले पहिलो खेलमै ३-१ ले विजयी

कोलम्बिया : २०२२ को विश्वकपमा छनोटै भएन, अहिले पहिलो खेलमै ३-१ ले विजयी

एजेन्सी : सन् २०२२ को विश्वकपमा छनोट हुन नसकेको कोलम्बियाले यसपटक उत्कृष्ट पुनरागमन गरेको छ।

मेक्सिको सिटीको प्रसिद्ध एस्टाडियो एजेटका रंगशालामा भएको समूह ‘के’को खेलमा कोलम्बियाले विश्वकपमा पहिलो पटक डेब्यु गरिरहेको उज्वेकिस्तानलाई ३-१ गोल अन्तरले पराजित गरेको हो। जितसँगै कोलम्बिया समूहको शीर्ष स्थानमा पुगेको छ।

खेलमा पहिलो अग्रता कोलम्बियाले लिएको थियो। क्रिस्टल प्यालेसका राइट-ब्याक ड्यानियल मुनोजले लुइस डियाजको उत्कृष्ट पासलाई सदुपयोग गर्दै उत्कृष्ट भली प्रहारमार्फत गोल गरेका थिए। त्यसअघि पूर्व लिभरपुल फरवार्ड डियाजको एक प्रहार पोस्टको भित्री भागमा लागेर फर्किएको थियो।

इटालीका पूर्व विश्वकप विजेता डिफेन्डर फाबियो कान्नाभारोले प्रशिक्षण सम्हालेको उज्वेकिस्तानले खेलको ६०औं मिनेटमा बराबरी गोल फर्कायो। उज्वेकिस्तानका अब्बोस्बेक फाईजुल्लाएभले आकर्षक हेडरमार्फत गोल गर्दै खेललाई १-१ को स्थितिमा ल्याएका थिए।

तर, उज्वेकिस्तानको यो बराबरी धेरै समय टिक्न सकेन। लुइस डियाजले प्रहार गरेको बल उज्वेकिस्तानका गोलकिपर उत्किर युसुपोभको हातमा लाग्दै गोलमा परिणत भएपछि कोलम्बियाले फेरि २-१ को अग्रता लियो।

विश्व वरीयताको ५० औं स्थानमा रहेको उज्वेकिस्तानले खेलको ९० औं मिनेटमा बराबरी गर्ने सुनौलो अवसर पाएको थियो, तर अकमल मोज्गोभोयको प्रहार पोस्टको थोरै बाहिरबाट बाहिरियो।

खेलको अन्तिम समयमा कोलम्बियाका वैकल्पिक खेलाडी जेमिन्टन काम्पाजले हेडरमार्फत तेस्रो गोल गर्दै टोलीको जित निश्चित गरे। खेलको अन्तिम समयमा उज्वेकिस्तानका जाखोन्गिर उरोजोभको प्रहार क्रसबारमा लागेर फर्किएपछि उज्वेकिस्तान गोल थप्नबाट चुक्यो।

यसै समूहको अर्को खेलमा पोर्चुगल र प्रजातान्त्रिक गणतन्त्र कंगोले १-१ गोलको बराबरी खेलेका छन्। अब समूह चरणको आगामी खेलमा मंगलबार उज्वेकिस्तानले पोर्चुगलको सामना गर्नेछ भने बुधबार कोलम्बिया र कंगो भिड्नेछन्।

असार ४, २०८३ बिहीबार १०:१३:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।