९५औं मिनेटको गोलमा घाना विजयी, पानामा स्तब्ध
एजेन्सी : क्यानडाको टोरन्टोमा भएको विश्वकप फुटबल खेलमा घानाले पानामालाई १-० ले पराजित गरेको छ।
घानाका क्यालेब यिरेन्कीले खेलको ९५औं मिनेटमा निर्णायक गोल गर्दै पानामालाई विश्वकप इतिहासमै पहिलो अंक प्राप्त गर्नबाट रोकेका छन्।
खेल सकिन ६ मिनेट बाँकी रहँदा ब्रान्डन थोमस-असान्टेले मैदानको बायाँ भागबाट डिफेन्डरलाई छक्याउँदै दिएको पासमा यिरेन्कीले सहजै गोल गरेका थिए।
यो नतिजा पानामाका लागि निकै दुर्भाग्यपूर्ण रह्यो। सन् २०१८ मा पहिलो पटक विश्वकप खेलेको पानामाले चार पटकको अफ्रिकी च्याम्पियन घानालाई खेलभरि कडा टक्कर दिएको थियो।
खेलको दोस्रो मिनेटमै पानामाले अग्रता लिने अवसर पाएको थियो, तर सेसिलियो वाटरम्यानको प्रहारलाई घानाका गोलकिपर लरेन्स अति जिगीले उत्कृष्ट बचाउ गरे।
दोस्रो हाफमा पानामाका क्रिस्टियन मार्टिनेजको प्रहार गोलपोस्टको नजिकैबाट बाहिरियो।
खेलको अन्तिम क्षणमा पानामाका गोलकिपर ओर्लान्डो मस्कोएरा पनि गोल गर्ने प्रयासमा अगाडि बढेका थिए। उनले हेड गरेर इस्माएल डियाजलाई पास दिए पनि डियाजको प्रहार सिधै घानाका वैकल्पिक गोलकिपर बेन्जामिन आसारेको हातमा पुग्यो।
घानाका मुख्य गोलकिपर अति जिगी पहिलो हाफमा घाइते भएपछि प्रशिक्षक कार्लोस क्विरोजले दोस्रो हाफमा वैकल्पिक गोलकिपर बेन्जामिन आसारेलाई मैदान पठाएका थिए।
घानाका मुख्य मिडफिल्डर थोमस पार्टी भने कानुनी झमेलाका कारण क्यानडा प्रवेश अनुमति नपाउँदा यस खेलमा उपलब्ध थिएनन्। घानाले आगामी खेलमा बलियो टोली इंग्ल्यान्डविरुद्ध सुधारिएको प्रदर्शन गर्नुपर्ने देखिन्छ।
असार ४, २०८३ बिहीबार ०७:३६:३१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।