क्रोएसियाविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित : आक्रामक रणनीति तर कमजोर डिफेन्स
एजेन्सी : नयाँ प्रशिक्षक थोमस टुचेलको नेतृत्वमा इंग्ल्यान्डले विश्वकपमा विजयी सुरुवात गरेको छ। क्रोएसियाविरुद्धको खेलमा ४-२ को रोमाञ्चक जित निकाल्दै इंग्ल्यान्डले आफ्नो आक्रामक रणनीतिको बलियो संकेत दिएको छ।
डालस रंगशालामा भएको यस खेलमा इंग्ल्यान्डको उत्कृष्ट आक्रमण र कमजोर डिफेन्स दुवै स्पष्ट रूपमा देखियो। विगतका प्रतियोगिताहरूमा बढी रक्षात्मक र केही निरस खेल प्रदर्शन गरेको भन्दै आलोचना खेपेको इंग्ल्यान्डले यस पटक भने दर्शकहरूलाई रोमाञ्चक खेल पस्कियो।
खेलको पहिलो हाफमा इंग्ल्यान्डको फितलो डिफेन्सलाई लिएर प्रशिक्षक टुचेल निकै आक्रोशित देखिएका थिए।
कप्तान ह्यारी केनले दुई पटक टोलीलाई अग्रता दिलाए पनि कमजोर डिफेन्सका कारण क्रोएसियाले दुवै पटक बराबरी गोल फर्कायो। डिफेन्डर मार्क गेहीको स्थानमा एज्री कोन्सालाई खेलाउने निर्णयमाथि खेलपछि केही बहससमेत सुरु भएको छ।
दोस्रो हाफको सुरुवातमा जूड बेलिङ्घमले उत्कृष्ट गोल गर्दै इंग्ल्यान्डलाई पुनः ३-२ को अग्रता दिलाए। यो गोलपछि खेल पूर्ण रूपमा इंग्ल्यान्डको नियन्त्रणमा आयो।
टुचेलको साहसी निर्णय र विश्लेषकहरूको प्रतिक्रिया
खेलको ७२औं मिनेटमा जब इंग्ल्यान्ड ३-२ ले अगाडि थियो, प्रशिक्षक टुचेलले रक्षात्मक खेल खेल्नुको साटो थप आक्रामक रणनीति अपनाए।
उनले रक्षात्मक मिडफिल्डर डिक्लन राइसको स्थानमा आक्रामक खेलाडी मोर्गान रोजर्सलाई मैदान पठाए भने मार्कस र्यासफोर्ड र बुकायो साकालाई पनि मैदान भित्र्याए। र्यासफोर्डले खेलको अन्तिम समयतिर गोल गर्दै इंग्ल्यान्डको ४-२ को जित सुनिश्चित गरे।
ह्यारी केनले यस खेलमा गोल गर्दै इंग्ल्यान्डका लागि विश्वकपमा सर्वाधिक १० गोल गर्ने ग्यारी लिनेकरको कीर्तिमानसँग बराबरी गरे। उनको अन्तर्राष्ट्रिय गोल संख्या अब ११५ खेलमा ८१ पुगेको छ।
पूर्व इंग्लिस स्टार वेन रुनी, जो हार्ट र पल रोबिन्सनले प्रशिक्षक टुचेलको यस निडर कदमको खुलेर प्रशंसा गरे।
रुनीले भने, ‘अग्रता जोगाउन रक्षात्मक हुनुको साटो थप गोलका लागि आक्रामक खेलाडीहरू मैदान पठाउनु निकै साहसी र सकारात्मक कदम थियो।’
इंग्ल्यान्डले अब समूह ‘एल’ अन्तर्गत मंगलबार बोस्टनमा घानाविरुद्ध आफ्नो दोस्रो खेल खेल्नेछ।
असार ४, २०८३ बिहीबार ०७:२९:२२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।