अर्जेन्टिनाको जितमा अर्को रेकर्ड : ‘डिफेन्डिङ च्याम्पियन’का रूपमा पहिलो पटक जित्यो उद्घाटन खेल
एजेन्सी : ‘डिफेन्डिङ च्याम्पियन’ अर्जेन्टिनाले विश्वकपको आफ्नो पहिलो खेलमा अल्जेरियामाथि सानदार जित दर्ता गर्दै उपाधि रक्षाको यात्रा बलियो रूपमा सुरु गर्यो।
कप्तान लियोनल मेस्सीको ऐतिहासिक ह्याट्रिकको मद्दतले अर्जेन्टिनाले यसअघिका विश्वकपमा ‘डिफेन्डिङ च्याम्पियन’का रूपमा उद्घाटन खेल हार्ने आफ्नो खराब इतिहासलाई उल्ट्याउन सफल भएको छ।
बीबीसीका अनुसार अर्जेन्टिनाले यसअघि ‘डिफेन्डिङ च्याम्पियन’को रूपमा विश्वकप खेल्दा कहिल्यै पनि आफ्नो पहिलो खेल जित्न सकेको थिएन।
यसअघि सन् १९८२ र १९९० को विश्वकपमा उपाधि रक्षाका लागि मैदान उत्रिँदा अर्जेन्टिना आफ्नो पहिलो खेलमै पराजित भएको थियो। तर यसपटक अल्जेरियालाई ३-० गोल अन्तरले हराउँदै अर्जेन्टिनाले उक्त इतिहासलाई सुधारेको छ।
मेस्सीको कीर्तिमानी प्रदर्शनले सम्भव भयो जित
अर्जेन्टिनालाई पहिलो खेलमै ऐतिहासिक जित दिलाउने क्रममा कप्तान लियोनल मेस्सी नायक बने।
आफ्नो देशका लागि २०० औं खेल खेलिरहेका मेस्सीले सानदार प्रदर्शन गर्दै आफ्नो विश्वकप करियरकै पहिलो ह्याट्रिक पूरा गरे। ३८ वर्षीय मेस्सी विश्वकप इतिहासमै ६ वटा फरक संस्करण खेल्ने पहिलो खेलाडी समेत बनेका छन्।
खेलको १७औं मिनेटमा रोड्रिगो डे पलको पासमा मेस्सीले डि-बक्स बाहिरबाट उत्कृष्ट प्रहार गर्दै अर्जेन्टिनालाई खेलमा सुरुवाती अग्रता दिलाए। त्यसपछि ६०औं मिनेटमा अल्जेरियाका गोलकिपर लुका जिदानको गल्तीको फाइदा उठाउँदै मेस्सीले बललाई चलाखीपूर्ण रूपमा गोलको दिशा दिए।
यस्तै ७६ औं मिनेटमा निकोलस गोन्जालेजको पासमा डि-बक्सको किनाराबाट शक्तिशाली प्रहार गर्दै मेस्सीले आफ्नो ह्याट्रिक पूरा गरे र अर्जेन्टिनाको जित सुनिश्चित गरे।
यस ह्याट्रिकसँगै मेस्सीले विश्वकपमा आफ्नो कुल गोल संख्या १६ पुर्याएका छन्। योसँगै उनले विश्वकप इतिहासमा सबैभन्दा धेरै गोल गर्ने जर्मनीका मिरोस्लाभ क्लोजको कीर्तिमानसँग बराबरी गरेका छन्।
३८ वर्ष ३५७ दिनको उमेरमा ह्याट्रिक गरेसँगै मेस्सी विश्वकपको एउटै खेलमा दुई वा सोभन्दा बढी गोल गर्ने विश्वकप इतिहासकै सबैभन्दा पाको उमेरका खेलाडी बनेका छन्।
समूह ‘जे’ मा उत्कृष्ट जितका साथ यात्रा सुरु गरेको अर्जेन्टिनाले अब आगामी खेलहरूमा अस्ट्रिया र जोर्डनको सामना गर्नेछ।
असार ३, २०८३ बुधबार ०९:११:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।