छैटौं विश्वकपमा मेस्सीको ऐतिहासिक ह्याट्रिक, बनाए रेकर्ड

छैटौं विश्वकपमा मेस्सीको ऐतिहासिक ह्याट्रिक, बनाए रेकर्ड

एजेन्सी : साविक विजेता अर्जेन्टिनाले विश्वकपमा आफ्नो उपाधि रक्षाको यात्रा उत्कृष्ट ढंगले सुरू गरेको छ।

कप्तान लियोनल मेस्सीको सानदार ह्याट्रिकको मद्दतले अर्जेन्टिनाले अल्जेरियालाई ३-० गोल अन्तरले पराजित गरेको हो।

यो ऐतिहासिक खेलसँगै ३८ वर्षीय मेस्सीले विश्वकप इतिहासमा सबैभन्दा धेरै गोल गर्ने जर्मनीका मिरोस्लाभ क्लोजको १६ गोलको कीर्तिमानसँग बराबरी गरेका छन्।

खेलको १७औं मिनेटमा व्यक्तिगत पहिलो गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका मेस्सीले दोस्रो हाफमा थप दुई गोल थपे।

यो उनको विश्वकप खेल जीवनकै पहिलो ह्याट्रिक समेत हो। २००६ मा जर्मनीमा भएको विश्वकपमा अर्जेन्टिनाबाट खेलेका उनले त्यसपछिका लगातार छ वटा विश्वकप खेल्दै आएका छन्।

खेलको ६०औं मिनेटमा एलिक्सिस म्याक अलिस्टरको शक्तिशाली प्रहारलाई अल्जेरियाका गोलकिपर लुका जिदानले नियन्त्रणमा लिन सकेनन्। गोलकिपरको छातीमा ठोक्किएर फर्किएको बललाई मेस्सीले चलाखीपूर्ण तरिकाले गोलको दिशा दिए।

यस्तै ७९औं मिनेटमा मैदानको मध्यभागबाट सुरू भएको मुभमा वैकल्पिक खेलाडी निको गोन्जालेजको पासलाई नियन्त्रणमा लिँदै मेस्सीले उत्कृष्ट प्रहारमार्फत आफ्नो ह्याट्रिक पूरा गरे।

ह्याट्रिक पूरा गरेलगत्तै ७९औं मिनेटमा मेस्सीलाई मैदानबाट आराम दिइयो र उनको स्थानमा निको पाज मैदान प्रवेश गरे।

अब आगामी सोमबार अस्ट्रियाविरुद्ध हुने खेलमा गोल गरेमा मेस्सी विश्वकप इतिहासकै सबैभन्दा धेरै गोल गर्ने एकल खेलाडी बन्नेछन्।

३८ वर्ष ३५७ दिनको उमेरमा ह्याट्रिक गरेसँगै मेस्सी विश्वकपको एउटै खेलमा दुई वा सोभन्दा बढी गोल गर्ने विश्वकप इतिहासकै सबैभन्दा पाको उमेरका खेलाडी बनेका छन्।

उनी सन् २०२२ को फाइनलमा फ्रान्सका किलियन एमबाप्पेले ह्याट्रिक गरेयता विश्वकपमा ह्याट्रिक गर्ने पहिलो खेलाडी समेत बनेका छन्।

खेलको दोस्रो हाफमा अल्जेरियाले अर्जेन्टिनाको रक्षापंक्तिलाई खासै दबाब दिन सकेन। अर्जेन्टिनाका गोलकिपर एमिलियानो मार्टिनेजले दोस्रो हाफमा निकै सहज समय बिताए र उनले कुनै कठिन बचाउ गर्नु परेन।

यो जितसँगै अर्जेन्टिनाले समूह 'जे' मा महत्वपूर्ण ३ अंक जोड्दै प्रतियोगितामा बलियो सुरुवात गरेको छ।

असार ३, २०८३ बुधबार ०८:५४:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।