मेस्सीको गोलमा अर्जेन्टिनालाई पहिलो हाफमा १-० को अग्रता, दुई गोल रद्द
एजेन्सी : विश्वकप फुटबल अन्तर्गत समूह ‘जे’को खेलमा लियोनल मेस्सीको उत्कृष्ट गोलको मद्दतले अर्जेन्टिनाले अल्जेरियाविरुद्ध पहिलो हाफमा १-० को अग्रता बनाएको छ।
अमेरिकाको कान्सास सिटी स्टेडियममा जारी यस खेलमा ३८ वर्षीय मेस्सीले आफ्नो खेल जीवनको छैटौं विश्वकप खेल्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका हुन्।
खेलको १७औं मिनेटमा रोड्रिगो डे पलको पासमा मेस्सीले डि बक्स बाहिरबाट उत्कृष्ट प्रहार गर्दै गोल गरे। अल्जेरियाका गोलकिपर लुका जिदानले बल नियन्त्रणमा लिने प्रयास गरे पनि मेस्सीको शक्तिशाली प्रहारलाई रोक्न सकेनन्।
यो गोलसँगै मेस्सीले अर्जेन्टिनाका लागि आफ्नो २०० औं खेलमा ११८औं अन्तर्राष्ट्रिय गोल पूरा गरेका छन्। साथै, विश्वकप इतिहासमा यो उनको १४ औं गोल हो।
योसँगै उनी विश्वकपमा सबैभन्दा धेरै गोल गर्ने खेलाडीको सूचीमा जर्मनीका गर्ड मुलर र फ्रान्सका किलियन एमबाप्पेसँगै तेस्रो स्थानमा आइपुगेका छन्।
खेलको सुरुवात निकै तीव्र र रोमाञ्चक रह्यो। खेल सुरू भएको पाँचौं मिनेटमै मेस्सीले गोल गरे पनि रेफ्रीले त्यसलाई अफसाइड घोषित गरिदिए।
त्यसपछि आठौं मिनेटमा अल्जेरियाका फारेस चेबीले पनि बललाई जाली चुमाएका थिए, तर रेफ्रीले त्यसलाई पनि अफसाइड देखाएपछि दुवै टोलीको सुरुवाती गोलले मान्यता पाएनन्।
खेलको पहिलो हाफमा मेस्सीको एउटा फललाई लिएर विवाद देखिएको छ। मेस्सीको जुत्ताको तल्लो भाग अल्जेरियाका डिफेन्डर ऐसा मान्दीको पिँडुलामा लाग्न पुगेको थियो।
यस चुनौतीका लागि मेस्सीलाई रेफ्रीले कुनै पनि कार्ड नदिएपछि सामाजिक सञ्जालमा समर्थकहरूले असन्तुष्टि व्यक्त गरिरहेका छन्।
पहिलो हाफको अन्त्यतिर अल्जेरियाले बराबरी गर्ने राम्रो अवसर पाएको थियो। तर फारेस चेबीको प्रहारलाई अर्जेन्टिनाका गोलकिपर एमिलियानो मार्टिनेजले उत्कृष्ट बचाउ गर्दै विफल पारिदिए।
कान्सास सिटीको स्टेडियममा दर्शकहरूको उत्साहजनक उपस्थितिका बीच खेलको पहिलो हाफ समाप्त भएको छ र अर्जेन्टिना १-० ले अघि रहेको छ।
असार ३, २०८३ बुधबार ०७:४४:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।