विश्वकप डेब्युमा हालान्डको दुई गोल, इराक पराजित

विश्वकप डेब्युमा हालान्डको दुई गोल, इराक पराजित

एजेन्सी : २८ वर्षपछि विश्वकपमा फर्किएको नर्वेले आफ्नो पहिलो खेलमा इराकलाई पराजित गर्दै सुखद सुरुवात गरेको छ। बोस्टन रंगशालामा भएको समूह 'आई' को खेलमा नर्वेलाई जिताउन स्टार स्ट्राइकर अर्लिङ हालान्डले दुई गोल गरे।

२५ वर्षका हालान्डले यस खेलसँगै देशका लागि ५१ खेलमा ५७ गोल पूरा गरेका छन्। खेलको अन्तिम समयमा इराकी गोलकिपर जलाल हसनले उत्कृष्ट बचाउ नगरेको भए हालान्डले विश्वकप इतिहासकै ५५ औं ह्याट्रिक पूरा गर्ने अवसर पाउने थिए।

४० वर्षपछि विश्वकप खेलिरहेको इराकले सुरुवाती २५ मिनेटमा नर्वेलाई राम्रो चुनौती दिएको थियो। तर पहिलो हाफको ‘हाइड्रेसन ब्रेक’लगत्तै नर्वेले अग्रता लियो। डेभिड मोलर वोल्फले देब्रे तर्फबाट दिएको उत्कृष्ट क्रसलाई हालान्डले पोस्टको नजिकैबाट गोलमा परिणत गरे।

खेलको ३९ औं मिनेटमा इराकले बराबरी गोल फर्कायो। अमिर अल-अमारीको क्रसमा आयमेन हुसेनले बलियो हेडरमार्फत गोल गरे। हुसेनले नै गत मार्चमा बोलिभियाविरुद्धको प्ले-अफ खेलमा निर्णायक गोल गर्दै इराकलाई विश्वकपमा छनोट गराएका थिए।

तर, इराकको यो बराबरी धेरै समय टिक्न सकेन। त्यसको चार मिनेटपछि नै इराकी गोलकिपर हसनले आफ्नै डी-बक्स भित्र ब्याक-पास नियन्त्रणमा लिन ढिलाइ गरे।

हालान्डले बल खोस्न जाँदा गोलकिपरले प्रहार गरेको बल हालान्डको जीउमा ठोक्किएर सिधै गोलमा परिणत भयो। पहिलो हाफको अन्त्यतिर इराकले गोल गर्ने केही राम्रा अवसरहरू सिर्जना गरे पनि सफल हुन सकेन।

दोस्रो हाफमा मैदान प्रवेश गरेका इराकी वैकल्पिक खेलाडी जिदान इकबालले इतिहास रचे। म्यानचेस्टरमा जन्मिएका इकबाल पुरुष विश्वकप खेल्ने पाकिस्तानी मूलका पहिलो खेलाडी बनेका छन्।

खेलको ७६ औं मिनेटमा नर्वेका वैकल्पिक खेलाडी लियो ओस्टिगार्डले कप्तान मार्टिन ओडेगार्डको कर्नर पासमा हेडरमार्फत गोल गर्दै नर्वेको अग्रता ३-१ बनाए। खेलको अतिरिक्त समयमा हालान्डको हेड प्रहारलाई बचाउन खोज्दा इराकका गोलकर्ता हुसेनबाट आत्मघाती गोल हुन पुग्यो र नर्वे खेलमा विजयी भयो।

यस विश्वकपमा एसियाली टोलीविरुद्ध युरोपेली टोलीले जित हात पारेको यो पहिलो पटक हो। अर्कोतर्फ, यस पराजयसँगै विश्वकपमा आफ्नो पहिलो अंक जोड्ने इराकको प्रतीक्षा अझै लम्बिएको छ।

असार ३, २०८३ बुधबार ०७:३३:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।