एमबाप्पे बने फ्रान्सका लागि सबैभन्दा धेरै गोल गर्ने खेलाडी
एजेन्सी : फ्रान्सले फुटबल इतिहासमा धेरै उत्कृष्ट आक्रमणकारी खेलाडीहरू पाएको छ। तर, गोल गर्ने संख्याको हिसाबले २७ वर्षका किलियन एमबाप्पे सबैभन्दा अगाडि निस्किएका छन्।
विश्वकपको पहिलो खेलमा सेनेगलविरुद्ध गोल गर्दै रियल मड्रिडका यी फरवार्डले फ्रान्सका लागि आफ्नो ५८ औं गोल पूरा गरेका छन्।
योसँगै उनले ओलिभर जिरुडको कीर्तिमान तोड्दै फ्रान्सका लागि अन्तर्राष्ट्रिय फुटबलमा सबैभन्दा धेरै गोल गर्ने खेलाडीको कीर्तिमान आफ्नो नाममा गरेका छन्।
खेलको विश्लेषणका क्रममा बीबीसी वानमा बोल्दै जिरुडले एमबाप्पेलाई बधाई दिए।
उनले भने, ‘म किलियनका लागि धेरै खुसी छु। यो अपेक्षित नै थियो। उनले भविष्यमा खेल संख्या र गोल दुवैमा हरेक कीर्तिमान तोड्नेछन्। मलाई लाग्छ उनले सजिलै १०० गोल पूरा गर्नेछन् र विश्वकपमा जर्मनीका मिरोस्लाभ क्लोजको कीर्तिमान पनि तोड्न सक्नेछन्। उनले विश्वकप र अन्य ठूला खेलहरूमा सधैं उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्।’
एमबाप्पेले फ्रान्सका लागि मात्र ९९ खेल खेल्दै ५८ गोल गरेका हुन्। सेनेगलविरुद्धको खेलमा गरेको गोलसँगै विश्वकपमा उनको कुल गोल संख्या १४ पुगेको छ। अब उनी विश्वकपमा सबैभन्दा धेरै १६ गोल गर्ने जर्मनीका मिरोस्लाभ क्लोजभन्दा मात्र दुई गोलले पछाडि छन्।
एमबाप्पेको तारिफ गर्दै जिरुडले थपे, ‘धेरै साथीहरू मलाई उनीबारे सोध्छन्। उनीसँग ठूलो लक्ष्य र आत्मविश्वास छ। उनी सानै उमेरदेखि निकै परिपक्व थिए। उनी मैदान भित्र र बाहिर दुवै ठाउँमा एक उत्कृष्ट सहकर्मी र सच्चा कप्तान हुन्।’
फ्रान्सेली फुटबल विश्लेषक जुलियन लरेन्सका अनुसार एमबाप्पे फ्रान्सको इतिहासकै सबैभन्दा महान खेलाडी बन्ने बाटोमा छन्।
लरेन्सले भने, ‘अहिले नै मूल्यांकन गर्ने हो भने जिनेदिन जिदान र मिचेल प्लाटिनी फ्रान्सका अहिलेसम्मकै उत्कृष्ट दुई खेलाडी हुन्। त्यसपछि एमबाप्पेको स्थान आउँछ, जो थियरी अनरी, एन्टोइन ग्रिजम्यान र ओलिभर जिरुडभन्दा अगाडि छन्।’
उनले अगाडि भने, ‘यो केवल गोलको कुरा मात्र होइन, कप्तानका रूपमा उनको नेतृत्व पनि महत्त्वपूर्ण छ। उनले सन् २०१८ मा विश्वकप जिते र २०२२ को फाइनलमा ह्याट्रिक गरे। आफ्नो खेल जीवनको अन्त्यसम्ममा उनी फ्रान्सका अहिलेसम्मकै सबैभन्दा महान खेलाडी बन्ने निश्चित छ।’

असार ३, २०८३ बुधबार ०७:१२:२८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।