विश्वकप फुटबल २०२६ : ऐतिहासिक जितबाट चुक्यो न्युजिल्याण्ड
एजेन्सी : विश्वकप फुटबल अन्तर्गत समूह ‘जी’को खेलमा इरान र न्युजिल्याण्डले २-२ गोलको रोमाञ्चक बराबरी खेलेका छन्।
दुई पटकसम्म स्पष्ट अग्रता लिए पनि त्यसलाई जोगाउन नसक्दा न्युजिल्याण्ड विश्वकपमा आफ्नो पहिलो ऐतिहासिक जित दर्ता गर्नबाट चुकेको छ।
खेलको सुरुवातमै न्युजिल्याण्डले आक्रामक सुरुवात गर्यो। क्रिस वुडको पासमा एलिजाह जस्टले उत्कृष्ट हाफ-भली प्रहार गर्दै न्युजिल्याण्डलाई १-० को अग्रता दिलाए।
खेलमा न्युजिल्याण्डले राम्रो प्रदर्शन गरिरहेकै बेला पहिलो हाफको मध्यतिर भएको ‘हाइड्रेशन ब्रेक’पछि खेलको गति परिवर्तन भयो। त्यसपछि खेलमा हाबी भएको इरानका लागि रामिन रेजाइनले गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याए।
यसअघि इरानका चर्चित स्ट्राइकर मेहदी तारेमीको प्रहार गोलपोष्टमा ठोकिएर फर्किएको थियो भने इरानको एउटा गोललाई रेफ्रीले अफसाइड घोषित गरिदिएका थिए।
दोस्रो हाफमा न्युजिल्याण्डले पुनः खेलमा लय समात्यो। एलिजाह जस्टले व्यक्तिगत दोस्रो गोल गर्दै न्युजिल्याण्डलाई फेरि २-१ को अग्रता दिलाए। उनले यसपटक पनि क्रिस वुडकै पासमा इरानी गोलकिपर अलिरेजा बेइरानभान्डको माथिबाट बललाई जालीको दिशा दिएका थिए।
तर, न्युजिल्याण्डको यो अग्रता धेरै समय टिक्न सकेन। इरानका रामिन रेजाइनको क्रसमा मोहम्मद मोहेब्बीले उत्कृष्ट हेडिङमार्फत गोल गर्दै खेललाई २-२ को बराबरीमा ल्याए। बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन सकेन।
यो बराबरीसँगै समूह 'जी' मा रहेका सबै टोलीको समान १-१ अंक भएको छ। यसअघि यसै समूहको पहिलो खेलमा बेल्जियम र इजिप्टले पनि १-१ गोलको बराबरी खेलेका थिए।
असार २, २०८३ मंगलबार ०९:३५:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।