भिनिसियसको गोलसँगै हारबाट जोगियो ब्राजिल

भिनिसियसको गोलसँगै हारबाट जोगियो ब्राजिल

काठमाडौं : भिनिसियस जुनियरको उत्कृष्ट व्यक्तिगत गोलको मद्दतले पाँच पटकको विजेता ब्राजिल विश्वकपको आफ्नो पहिलो खेलमा पराजित हुनबाट जोगिएको छ।

अमेरिकाको न्युजर्सीस्थित मेटलाइफ स्टेडियममा भएको खेलमा ब्राजिलले मोरक्कोसँग १-१ गोलको बराबरी खेलेको हो।

यस बराबरीसँगै सन् १९३४ देखि विश्वकपको आफ्नो पहिलो खेलमा अपराजित रहने ब्राजिलको ९२ वर्ष पुरानो कीर्तिमान जोगिएको छ।

खेलको २१औं मिनेटमा इस्माएल साइबारीले गोल गर्दै मोरक्कोलाई सुरुवाती अग्रता दिलाएका थिए।

ब्राजिलका डिफेन्डरद्वय ग्याब्रिएल र मार्किन्होस तथा गोलकिपर एलिसन बेकरबीच आपसी तालमेल नमिल्दा साइबारीले पेनाल्टी बक्स बाहिरबाट बललाई एलिसनको माथिबाट गोलपोस्टको दिशा दिएका थिए।

विश्वकपको इतिहासमा अफ्रिकी च्याम्पियन मोरक्कोले दक्षिण अमेरिकी टोलीविरुद्ध गोल गरेको यो पहिलो पटक हो। यसअघि मोरक्को सन् १९७० मा पेरु र १९९८ मा ब्राजिलविरुद्ध गोल गर्न असफल भएको थियो।

खेलमा मोरक्कोले आफ्नो दबाब कायम राखेको थियो। उसले खेलको ३०औं मिनेटसम्ममा गोलका लागि १२ पटक प्रयास गरेको थियो। सन् २०१८ को विश्वकपमा मेक्सिकोविरुद्धको खेलपछि ब्राजिलले विपक्षी टोलीबाट यति धेरै प्रहारको सामना गरेको यो पहिलो पटक हो।

तर, मोरक्कोले आफ्नो अग्रतालाई थप बलियो बनाउन नसक्दा पहिलो हाफ सकिन १३ मिनेट अगाडि ब्राजिलले बराबरी गोल फर्कायो।

ब्राजिलका लागि ५०औं खेल खेलिरहेका भिनिसियस जुनियरले ब्रुनो गुइमारेसको पासलाई पेनाल्टी बक्स भित्र नियन्त्रणमा लिँदै मोरक्कोका गोलकिपर यासिन बोनोलाई पछि पारेर उत्कृष्ट गोल गरे।

पहिलो हाफको अतिरिक्त समयमा ब्राजिलका मिडफिल्डर लुकास पाक्वेटाको प्रहारलाई मोरक्कोका गोलकिपरले बचाएपछि ब्राजिल अग्रता लिनबाट चुक्यो।

सन् २००२ मा विश्वकप जितेको ब्राजिलियन टोलीका सदस्यहरू रोनाल्डो, काका र रोबर्टो कार्लोस रंगशालामै उपस्थित भएर खेल हेरिरहेका थिए।

दोस्रो हाफमा ब्राजिलका प्रशिक्षक कार्लो एन्सेलोटीको टोलीले खेलमा केही सुधार ल्याए पनि दुवै तर्फबाट थप गोल हुन सकेन। खेलको अन्तिम समयतिर राफिन्हाले गुइमारेसको पासमा गोल गर्ने राम्रो अवसर गुमाएका थिए।

यस बराबरीसँगै विश्वकपको आफ्नो पहिलो खेल जित्ने मोरक्कोको प्रतीक्षा अझै लम्बिएको छ भने ब्राजिलको अपराजित यात्रा यात्रा कायमै रहेको छ।

फिफा वरीयतामा ब्राजिल छैटौं स्थानमा छ भने मोरक्को सातौं स्थानमा छ।

जेठ ३१, २०८३ आइतबार ०६:०७:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।