कञ्चटमै बज्रियो गोलकिपरको मुक्का, रेफ्रीले ‘रेड कार्ड’ नदिँदा निर्णय विवादित!

कञ्चटमै बज्रियो गोलकिपरको मुक्का, रेफ्रीले ‘रेड कार्ड’ नदिँदा निर्णय विवादित!

एजेन्सी : विश्वकप २०२६ अन्तर्गत क्यानडा र बोस्निया-हर्जगोभिनाबीचको खेल १-१ को बराबरीमा सकियो।

यो खेल क्यानडाका लागि ऐतिहासिक रह्यो किनभने उसले विश्वकपको इतिहासमै पहिलो पटक अंक जोड्न सफल भयो। तर, यस खेलको नतिजाभन्दा बढी चर्चा दोस्रो हाफमा भएको एउटा विवादित घटनाको भइरहेको छ।

खेलको दोस्रो हाफ सुरु भएको चार मिनेटमै मैदानमा एउटा यस्तो दृश्य देखियो, जसले फुटबल जगतमा ‘रेड कार्ड’ को नियमलाई लिएर नयाँ बहस छेडिदिएको छ।

भएको के थियो?
बोस्निया १-० ले अगाडि रहेको बेला क्यानडाका स्ट्राइकर तानी ओलुवासेयी बल नियन्त्रणमा लिन अघि बढेका थिए। सोही समयमा बोस्नियाका गोलकिपर निकोला भासिलले हावामा उफ्रिएर बललाई हातले पन्च (मुक्का) गरेर टाढा पठाए।

तर, बल पन्च गरिसकेपछि उनको हात सिधै क्यानेडियन स्ट्राइकर ओलुवासेयीको टाउकोको कञ्चटमा जोडले बजारिन पुग्यो।

रेफ्रीले यसअघि नै अफसाइडको इसारा गरिसकेकाले त्यहाँ पेनाल्टी दिने अवस्था त थिएन, तर अर्जेन्टिनी रेफ्री फाकुन्डो टेलोले गोलकिपर भासिललाई कुनै पनि कार्ड देखाएनन्।

के गोलकिपरलाई रेड कार्ड दिएर मैदान बाहिर पठाउनुपर्थ्यो? यसै विषयलाई लिएर बीबीसीको स्टुडियोमा फुटबल विज्ञहरूबीच कडा बहस भयो।

वेन रुनीको दाबी: ‘यो त स्पष्ट रातो कार्ड हो’
इङ्गल्याण्डका पूर्व कप्तान वेन रुनी गोलकिपरको यो कदमलाई निकै खतरनाक मान्छन्।

उनले भने, ‘यो स्पष्ट रेड कार्ड हो। गोलकिपरले पहिले बल छोए पनि उनको हात खेलाडीको कञ्चटमा लागेको छ, जुन टाउकोको सबैभन्दा संवेदनशील भाग हो। यसले खेलाडी बेहोस हुन सक्थ्यो वा पछि गएर गम्भीर चोट देखिन सक्थ्यो। खुट्टाले जस्तै हातले पनि नियमविपरीत बढी बल प्रयोग गर्दा रातो कार्ड नै हुनुपर्छ। हातलाई पछाडि तान्न खुट्टालाई भन्दा सजिलो हुन्छ।’

पूर्व रेफ्री डैरेन कानको बचाउ: ‘रेफ्रीको निर्णय सही थियो’
सन् २०१४ को विश्वकप फाइनलमा सहायक रेफ्रीको भूमिका निभाएका डैरेन कानले भने रेफ्रीको निर्णयको बचाउ गरे।

उनले भने, ‘मेरो विचारमा यो रेड कार्ड वा पेनाल्टी दिने अवस्था होइन। गोलकिपरले स्पष्ट रूपमा पहिले बललाई छोएका छन् र त्यसपछि खेलाडीसँग भएको सम्पर्क स्वभाविक थियो। यसलाई गम्भीर फाउल खेल भन्न मिल्दैन।’

ओलिभियर जिरुडको मध्यमार्गी मत
फ्रान्सका पूर्व स्ट्राइकर ओलिभियर जिरुडले दुवै पक्षको कुरामा दम रहेको बताए।

उनले भने, ‘एउटा स्ट्राइकरको रूपमा हेर्दा मलाई पेनाल्टी नपाउँदा रिस उठ्थ्यो। तर अर्कोतर्फ, गोलकिपरले पहिले बल छोएपछि गुडिरहेको हातलाई स्ट्राइकरको टाउकोमा लाग्नबाट जोगाउन पनि गाह्रो हुन्छ।’

अब नियमले के भन्छ त?
फुटबलको नियमअनुसार, ‘विपक्षी खेलाडीको सुरक्षामा खतरा पुर्याउने वा अत्यधिक बल र क्रूरता प्रयोग गर्ने कार्यलाई गम्भीर फाउल खेल मानिन्छ र यस्तो अवस्थामा खेलाडीलाई रेड कार्ड दिनुपर्छ।’

यो घटनामा गोलकिपर जोगिए पनि यदि उनी बाहिरिएको भए बोस्निया १० खेलाडीमा सिमित हुने थियो र क्यानडाको जित्ने सम्भावना बलियो बन्ने थियो। रेफ्रीको यो निर्णयलाई लिएर तपाईंको धारणा के छ? के गोलकिपरलाई रातो कार्ड दिनुपर्थ्यो?

जेठ ३०, २०८३ शनिबार ०७:२२:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।