अमेरिकामा फुटबलको विश्वकपभन्दा बास्केटबल लिगको क्रेज बढी, सोध्छन्- ‘यहाँ विश्वकप हुँदैछ र?’
एजेन्सी : यतिबेला न्यूयोर्कका सडकदेखि क्यालिफोर्नियाका बारहरूसम्म उत्सवको माहोल छ। मानिसहरू गाडीमाथि चढेर खुसीयाली मनाइरहेका छन्।
तर, यो उत्सव विश्वकप फुटबलका लागि भने होइन। यो त अमेरिकामा सबैभन्दा बढी रुचाइने बास्केटबल खेल (एनबीए फाइनल) मा ‘न्यूयोर्क निक्स’ ले प्राप्त गरेको रोमान्चक जितको खुसीयाली हो।
यस घटनाले अमेरिकामा फुटबलका लागि विश्वकप आयोजना गर्नु र यसको प्रचार गर्नु कति चुनौतीपूर्ण छ भन्ने देखाउँछ। हालै गरिएको एक सर्वेक्षण अनुसार आधाभन्दा बढी अमेरिकीहरूलाई आफ्नै देशमा विश्वकप फुटबल सुरु हुन लागेकोमा कुनै चासो नै छैन।
फुटबल विश्वकपभन्दा बास्केटबल प्यारो
अमेरिकाले सन् १९९४ को ऐतिहासिक आयोजनापछि दोस्रो पटक पुरुष विश्वकपको आतिथ्यता गर्दैछ। न्यूयोर्क र लस एन्जलसका सडकहरूमा अर्जेन्टिनी स्टार लियोनेल मेसीका ठूला तस्बिर र विश्वकपका ब्यानरहरू त राखिएका छन्, तर स्थानीयहरूको ध्यान भने बास्केटबलमै अल्झिएको छ।

‘मलाई न्यूयोर्क निक्सबाहेक अरू कुनै कुरामा चासो छैन, मलाई फुटबलको बारेमा खासै थाहा पनि छैन’, एक अमेरिकी प्रशंसकले सुनाए। अर्का प्रशंसकले पनि बास्केटबलको फाइनल सकिएपछि मात्र आफूले विश्वकप फुटबल हेर्ने बताए।
लस एन्जलसमा विदेशी पत्रकारहरूलाई चढाएका एक ट्याक्सी चालकले अचम्म मान्दै सोधे, ‘विश्वकप फुटबल हुँदैछ र? को-को खेल्दैछन्?’
२८ वर्षपछि विश्वकपमा फर्किएको स्कटल्यान्डका फुटबल प्रशंसकहरू पनि अमेरिकीहरूको उदासीनता देखेर चकित परेका छन्। स्कटल्यान्डको जर्सी लगाएर पोस्ट अफिस पुगेका एक प्रशंसकलाई त्यहाँकी कर्मचारीले सोधिन्, ‘तपाईं यहाँ बिदा मनाउन आउनुभएको हो?’
ती कर्मचारीलाई अमेरिकामा विश्वकप हुँदैछ र यो जर्सी फुटबलको हो भन्ने पत्तै थिएन।
युवा पुस्तामा भने उत्साह
यद्यपि, पुराना पुस्ताको तुलनामा नयाँ र युवा पुस्तामा भने विश्वकपलाई लिएर केही उत्साह देखिन्छ। केही युवाहरूले मिलेर खेल हेर्नका लागि ‘वाच पार्टी’ को तयारी गरेका छन्।
अमेरिकामा फुटबल खेल बेसबलभन्दा बढी लोकप्रिय बन्दै गएको छ, तर यो अमेरिकन फुटबल वा बास्केटबल जति लोकप्रिय हुन भने अझै धेरै समय लाग्नेछ।
लस एन्जलस विश्वकप आयोजक समितिका सह-अध्यक्ष ल्यारी फ्रेडम्यानका अनुसार सुरुमा माहोल केही शान्त भए पनि खेलहरू अगाडि बढ्दै जाँदा देशमा फुटबलको क्रेज बिस्तारै बढ्दै जानेछ।

यस पटक अमेरिकामा टिकटको मूल्य अत्याधिक महँगो हुनु आम नागरिकका लागि अर्को ठूलो समस्या बनेको छ।
अमेरिकाको पहिलो खेलका लागि सबैभन्दा सस्तो टिकटको मूल्य १ हजार १२० डलर तोकिएको छ। यति महँगो मूल्यका कारण सामान्य परिवारहरू मैदानमा गएर खेल हेर्नबाट वञ्चित भएका छन् र उनीहरूले घरमै बसेर टिभीमा खेल हेर्ने निर्णय गरेका छन्।
विश्वकपमा अमेरिकी टोलीको यात्रा जति लामो हुन्छ, त्यहाँ फुटबलको क्रेज त्यति नै बढ्दै जाने अनुमान गरिएको छ। नयाँ र युवा दर्शकहरूलाई आकर्षित गर्न अमेरिकी फुटबल खेलाडीहरू फेसन म्यागाजिनको कभरमा समेत देखा पर्न थालेका छन्।
यदि अमेरिकी टोलीले यस विश्वकपमा राम्रो प्रदर्शन गर्न सक्यो भने, यसले अमेरिकी खेलकुद इतिहासमा सन् १९९४ को विश्वकपजस्तै दीर्घकालीन र सकारात्मक प्रभाव छाड्ने विश्वास गरिएको छ।
जेठ २९, २०८३ शुक्रबार १३:४२:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।