अर्थमन्त्रीमाथि छानबिन हुनैपर्छ, मेरो कार्यकालबाटै सुरु गरियोस् : वर्षमान पुन

अर्थमन्त्रीमाथि छानबिन हुनैपर्छ, मेरो कार्यकालबाटै सुरु गरियोस् : वर्षमान पुन

काठमाडौं : नेपाली कम्युनिस्ट पार्टीका नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ ले वर्तमान अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँगै आफ्नो विगतको कार्यकालमाथि पनि छानबिन गर्न चुनौती दिएका छन्।

शुक्रबार प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकमाथिको छलफल सुरु हुनुअघि बोल्दै नेता पुनले संसद्‌मा नीतिगत प्रश्न उठाएको आधारमा अर्थमन्त्रीले धम्कीपूर्ण अभिव्यक्ति दिएको भन्दै उनीमाथि संसदीय छानबिन हुनुपर्ने अडान दोहोर्याए।

विगतका बजेट निर्माण र करका दर हेरफेरमाथि छानबिन गर्ने भए आफू पूर्ण रूपमा तयार रहेको बताउँदै उनले भने, ‘दुई वर्षअगाडि म पनि अर्थमन्त्री थिएँ र मैले पनि बजेट ल्याएको थिएँ। मेरो पालाको पनि छानबिन होस्, गत वर्षको पनि होस् र यस वर्षको पनि होस्। म त्यसका लागि तयार छु र छानबिनको सुरुवात मेरै कार्यकालबाट गरियोस्।’

अर्थमन्त्री वाग्लेले अघिल्ला सरकारहरूले ७३ वटा करका दर हेरफेर गरेको र आफूले ७ वटा मात्र गरेको भनी दिएको स्पष्टीकरण तर्कसंगत नभएको पुनको टिप्पणी छ।

‘७३ वटा होस् वा एउटा, स्थापित विधि र प्रक्रिया मिचेर गरिएको हेरफेर वित्तीय अपराध नै हो,’ पुनले भने, ‘हामीले संसद्‌मा गल्ती औँल्याउन खोजेका थियौँ, केवल जिज्ञासा राखेका थियौँ। तर उहाँले संसद्को रोस्ट्रमबाटै धम्क्याउँदै ‘यो मैले गरेकै हुँ, के गर्छौ गर’ भन्ने शैली प्रस्तुत गर्नुभयो। यसबाट संसद्को मानहानि भएको छ र यसमा सभामुख महोदयबाट रुलिङ हुनुपर्छ।’

विगतमा पनि सानातिना प्राविधिक त्रुटिहरू सच्याउने अभ्यास रहेको स्मरण गर्दै पूर्वअर्थमन्त्री पुनले मन्त्रिपरिषद्ले गर्नुपर्ने निर्णय अर्थमन्त्री एक्लैले गर्न नसक्ने स्पष्ट पारे।

‘सरकार सधैँ बहुमतमा हुन्छ। जरुरी पर्दा क्याबिनेटले निर्णय गरेर संसद्लाई जानकारी गराउने कानुनी प्रक्रिया छ। यसको अर्थ केही परिवर्तन गर्नै पाइँदैन भन्ने होइन, तर स्थापित विधि (ड्यु प्रोसेस) पालना हुनुपर्छ’, उनले भने।

सांसद पुनले यो विवाद नयाँ र पुराना शक्तिबीचको नभई विधि र पद्धतिको लडाइँ भएको बताए।

‘यो पुराना र नयाँको विषय होइन, पद्धतिको विषय हो, नैतिकताको विषय हो र संसद्को सर्वोच्चताको विषय हो। नयाँ भावनासहित संसद्‌मा आउनुभएका साथीहरूले हिजोकाले गल्ती गरे भन्दैमा आफूले पनि त्यही गल्ती दोहोर्याउन मिल्दैन’, उनले जोड दिए।

जेठ २९, २०८३ शुक्रबार १३:२४:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।