चेक रिपब्लिकलाई हराउँदै दक्षिण कोरिया विजयी, खेलभर एउटा मात्र ‘एल्लो कार्ड’

चेक रिपब्लिकलाई हराउँदै दक्षिण कोरिया विजयी, खेलभर एउटा मात्र ‘एल्लो कार्ड’

काठमाडौं : फिफा विश्वकप २०२६ को दोस्रो खेलमा दुई दशकपछि विश्वकपमा फर्किएको चेक रिपब्लिकलाई २-१ गोल अन्तरले पराजित गर्दै दक्षिण कोरियाले विजयी सुरुवात गरेको छ।

उद्घाटन खेलको तुलनामा यो खेल मैदानभित्र निकै अनुशासित र मर्यादित रह्यो।

मेक्सिको र दक्षिण अफ्रिकाबीच भएको विश्वकपको पहिलो खेलमा तीनवटा रातो (रेड) कार्ड देखाइएपछि मैदानमा रेफ्रीको कडा रूपलाई लिएर सर्वत्र चर्चा सुरू भएको थियो।

तर, दोस्रो खेलमा भने खेलाडीहरू निकै संयमित देखिए। पूरै खेल अवधिभर रेफ्रीले मात्र एउटा एल्लो कार्ड प्रयोग गरे, त्यो पनि खेलको अतिरिक्त समय अर्थात् ९६औं (९०+५') मिनेटमा।

खेलको अन्तिम क्षणमा दक्षिण कोरियाका मिडफिल्डर ली गी-ह्युकलाई रेफ्री अमिन मोहम्मद ओमारले पहेँलो कार्ड देखाएका थिए, जुन यस खेलको एकमात्र कार्ड थियो।

दोस्रो हाफमा भयो निर्णय
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफ रोमाञ्चक बन्यो। खेलको ५९औं मिनेटमा लडिस्लाभ क्रेचीले गोल गर्दै चेक रिपब्लिकलाई सुरुवाती अग्रता दिलाएका थिए।

तर, चेक रिपब्लिकको त्यो अग्रता लामो समय टिक्न सकेन। खेलको ६७औं मिनेटमा दक्षिण कोरियाका ह्वाङ इनबियोमले गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याए।

त्यसपछि दबाब बढाएको दक्षिण कोरियाका लागि ८०औं मिनेटमा ओ हियोनग्युले दोस्रो गोल गर्दै टोलीको २-१ को जित निश्चित गरे। हियोनग्यु सब्स्चिच्यूड खेलाडी हुन्।

जेठ २९, २०८३ शुक्रबार ०९:५९:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।