मृत्युको मुखबाट फर्किएर मेक्सिकोका लागि वर्ल्डकप हिरोसम्म बनेका राउल हिमेनेज

मृत्युको मुखबाट फर्किएर मेक्सिकोका लागि वर्ल्डकप हिरोसम्म बनेका राउल हिमेनेज

एजेन्सी : सन् २०२० को नोभेम्बर महिनामा मेक्सिकन स्ट्राइकर राउल हिमेनेजको मैदानमै मृत्यु हुनसक्थ्यो। खेलका क्रममा टाउकोमा लागेको गम्भीर चोटले उनको जीवन नै जोखिममा पारेको थियो।

तर, त्यसको ६ वर्ष नपुग्दै ३५ वर्षीय हिमेनेजले सन् २०२६ को विश्वकपको पहिलो खेलमा मेक्सिकोका लागि गोल गर्दै नयाँ इतिहास रचेका छन्।

विश्वकपको उद्घाटन खेलमा मेक्सिकोको प्रसिद्ध ‘एस्टेका रङ्गशाला’मा ८० हजार दर्शकमाझ दक्षिण अफ्रिकाविरुद्ध गोल गरेपछि हिमेनेज निकै भावुक बनेका थिए।

मेक्सिकोलाई २-० को जित दिलाउन खेलको ६७औं मिनेटमा हेडमार्फत दोस्रो गोल गरेपछि उनले आकाशतर्फ औँल्याएर खुसीयाली मनाए।

यो गोल उनले गत मार्च महिनामा बितेका आफ्ना बुबा राउल हिमेनेज भेगाप्रति समर्पित गरेका थिए। गोल गरेपछि उनको आँखामा आँसु थामिएन।

खेलमा मेक्सिकोका लागि पहिलो गोल नवौं मिनेटमा जुलियन क्विनोनेसले गरेका थिए। क्विनोनेसले हिमेनेजको प्रशंसा गर्दै भने, ‘हामीले उनलाई बधाई दियौँ, उनले टोलीका लागि ठुलो योगदान दिएका छन्।’

यसरी बदलिएको थियो जीवन र खेल जीवन
हिमेनेजको खेल जीवन निकै उतारचढावपूर्ण रहेको छ।

सन् २०२० को नोभेम्बर २९ मा अङ्ग्रेजी प्रिमियर लिगको खेलमा आर्सनलका डिफेन्डर डेभिड लुइजसँग टाउको ठोक्किँदा हिमेनेज बेहोस भएका थिए। उनलाई मैदानमै अक्सिजन दिनुपरेको थियो र सबैले उनको जीवनको चिन्ता गरिरहेका थिए।

सन् २०२० मा मैदानमै घाइते अवस्थामा राउल हिमेनेज

त्यस गम्भीर चोटबाट निको हुन उनलाई लामो समय लाग्यो। उनले ६ महिनासम्म अभ्यास गर्न पाएनन् भने ८ महिनापछि मात्र मैदान फर्किए। हाल उनी टाउकोको सुरक्षाका लागि विशेष प्रकारको हेडब्यान्ड बाँधेर खेल्ने गर्छन्।

मेक्सिकोका लागि यो हिमेनेजको १२५औं खेलमा ४६औं गोल थियो। यससँगै उनी मेक्सिकोका लागि सबैभन्दा बढी गोल गर्ने खेलाडीको सूचीमा संयुक्त रूपमा दोस्रो स्थानमा आइपुगेका छन्।

यसअघि उनले तीनवटा विश्वकप (२०१४, २०१८, २०२२) मा केवल सब्स्टिच्युट खेलाडीका रूपमा मैदान छिर्ने मौका पाएका थिए। यो उनको विश्वकप इतिहासमै सुरुवाती ११ मा परेर खेलेको पहिलो खेल थियो।

हालै मात्र प्रिमियर लिग क्लब फुलहमबाट आफ्नो पुरानो क्लब वुल्भ्समा फर्किएका हिमेनेजको यस प्रदर्शनलाई धेरैले निकै प्रशंसनीय मानेका छन्।

बेलायतका पूर्वखेलाडी ग्यारी नेभिलले ८० हजार दर्शकका अगाडि घरेलु मैदानमा गोल गर्नु हिमेनेजको जीवनकै सबैभन्दा उत्कृष्ट क्षण भएको बताएका छन्।

त्यस्तै, प्रशिक्षक एडु रुबियोले हिमेनेज एक लडाकु भएको र उनको कडा मिहिनेतका कारण नै यो सम्भव भएको उल्लेख गरेका छन्।

जेठ २९, २०८३ शुक्रबार ०७:३६:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।