विश्वकपको उद्घाटन खेलमै तीन वटा ‘रेड कार्ड’
काठमाडौं : सन् २०२६ को विश्वकप फुटबलको उद्घाटन खेलमै तीनवटा रातो कार्ड देखाइएको छ। मेक्सिकोले दक्षिण अफ्रिकालाई २-० ले पराजित गरेको उक्त खेलमा कुल तीन खेलाडीले मैदान छाड्नुपरेको थियो।
तीन फरक विश्वकप आयोजना गर्ने पहिलो स्टेडियम बनेको अज्टेका स्टेडियममा क्यापासिटी क्राउडअघि मेक्सिकोका लागि जुलियन क्विनोनेस र राउल जिमेनेजले एक-एक गोल गरे।
खेलका क्रममा दक्षिण अफ्रिकाका याया सिथोले र थेम्बा ज्वानेले रातो कार्ड पाएका थिए भने खेलको अन्तिम समय (स्टपेज टाइम) मा मेक्सिकोका सेसार मोन्टेस पनि मैदानबाट बाहिरिएका थिए।
विगतका दुई विश्वकप (रुस २०१८ र कतार २०२२) मा पूरै प्रतियोगिताभरि जम्मा चार-चारवटा मात्र रातो कार्ड देखाइएको थियो।
तर यस पटक पहिलो खेलमै ब्राजिलियन रेफ्रीले तीनवटा रातो कार्ड देखिएपछि दर्शकहरूले सन् २००६ को विश्वकप सम्झिएका छन्, जहाँ कीर्तिमानी २८ खेलाडीलाई रातो कार्ड दिइएको थियो।
खेलको पहिलो रातो कार्ड दक्षिण अफ्रिकाका सिथोलेले पाएका थिए। मेक्सिकोका ब्रायन गुटिएरेजलाई लडाएपछि रेफ्री विल्टन साम्पाओले उनलाई स्पष्ट गोल गर्ने अवसर रोकेको भन्दै मैदान बाहिर पठाए। यो निर्णयलाई धेरै हदसम्म स्वाभाविक मानिएको छ।
तर, दक्षिण अफ्रिकाकै ज्वानेले पाएको दोस्रो रातो कार्ड भने केही विवादास्पद रह्यो। मेक्सिकन खेलाडी रोबर्टो अल्भाराडो र ज्वानेबीचको भिडन्तपछि भीएआरको सहयोगमा उनलाई हिंसात्मक व्यवहारका लागि रातो कार्ड दिइयो।
रिप्लेमा ज्वानेको हातले गालामा थप्पड हानेको जस्तो देखिएपछि रेफ्रीले उनलाई मैदान बाहिर पठाए।
तेस्रो रातो कार्ड खेलको अन्तिम समयमा मेक्सिकोका सेसार मोन्टेसले दक्षिण अफ्रिकाका खुलिसो मुदाउलाई लडाएपछि पाएका थिए।
सुरुमा यो निर्णय पनि विवादित देखिए तापनि रिप्लेमा मुदाउ गोल गर्ने बलियो स्थितिमा रहेकाले यस निर्णयलाई रेफ्रीको जायज कदमका रूपमा हेरिएको छ।
फिफाको रेफ्री कमिटीका प्रमुख पिएरलुइजी कोलिनाको नेतृत्वमा खेलमा रातो कार्ड दिने नियमहरूमा केही खुकुलोपना ल्याइएको थियो, जसले गर्दा अघिल्ला दुई विश्वकप शान्त रहेका थिए।
कोलिनाको प्राथमिकता खेलाडीहरूलाई मैदानमै राख्ने र गम्भीर गल्तीमा मात्र कडा सजाय दिने रहेको थियो। यद्यपि, यस विश्वकपअघि उनले खेलाडीको खराब व्यवहार र समय बर्बाद गर्ने प्रवृत्तिमा कडा निगरानी राख्ने बताएका थिए।
जेठ २९, २०८३ शुक्रबार ०६:५७:३८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।