फिफा विश्वकप २०२६ : नेपालमा अनधिकृत स्ट्रिमिङ ३५ वेबसाइट र एपमाथि प्रतिबन्ध

फिफा विश्वकप २०२६ : नेपालमा अनधिकृत स्ट्रिमिङ ३५ वेबसाइट र एपमाथि प्रतिबन्ध

काठमाडौं : नेपाल दूरसञ्चार प्राधिकरणले नेपालभित्र ३५ वटा वेबसाइट तथा मोबाइल एपहरूमाथि फिफा विश्वकप २०२६ का खेलहरू प्रसारण (स्ट्रिमिङ) गर्न रोक लगाएको छ।

प्राधिकरणले नेपालमा अनधिकृत रूपमा फिफा विश्वकप २०२६ को प्रसारण नगर्ने तयारीमा रहेको भनिएका मोबाइल तथा इन्टरनेट सेवा प्रदायकहरूलाई पत्राचार गरेर उक्त खेलको प्रसारण नगर्न भनेको हो। 

सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको पत्र पठाएपछि प्राधिकरणले अनधिकृत प्रसारणमा रोक लगाएको हो। नेपालका लागि फिफा विश्वकप २०२६ को विशेष र आधिकारिक प्रसारण अधिकार हिमालय टेलिभिजन नेटवर्क र डिसहोम डिजिटल (DGO)ले पाएका छन्। 

आधिकारिक अधिकार प्राप्त नगरेका विभिन्न पाइरेटेड वेबसाइट र एपहरूले खेलहरू निःशुल्क स्ट्रिमिङ गर्ने तयारी गरिरहेको पाइएपछि ती साइटहरू बन्द गर्न लागिएको प्राधिकरणले जनाएको छ।

पाइरेटेड र अनधिकृत वेबसाइट र एपहरूमा विश्वकप २०२६ का खेलहरू अनधिकृत रूपमा स्ट्रिमिङ नहुने व्यवस्था मिलाएर प्राधिकरणलाई जानकारी गराउन भनिएको प्राधिकरणद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। 

प्राधिकरणले प्रतिबन्ध लगाएका ३५ वटा अनधिकृत स्रोतहरूको सूचीमा किक डटकम (kick.com), स्पोर्टजफाई (sportzfy), क्रिकफाइ टिभी (cricfytv.to) र रोनाल्डो सेभेन (ronaldo7.net) लगायतका स्ट्रिमिङ साइटहरू रहेका छन्।

जेठ २८, २०८३ बिहीबार १५:३५:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।