राखेप उपाध्यक्ष बने विशाल श्रेष्ठ, रुपन्देही क्रिकेट संघको चुनाव हारेका शक्ति गौचन पनि सदस्य
काठमाडौं : शिक्षा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप)को उपाध्यक्षमा पूर्वराष्ट्रिय फुटबल टोलीका गोलकिपर विशाल श्रेष्ठलाई नियुक्त गरेको छ।
लामो समय नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य रहेका श्रेष्ठले खेल जीवनमा उल्लेखनीय योगदान दिएका छन्।
केही वर्षअघि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका उनी अब नेपाली खेलकुदको सर्वोच्च निकाय राखेपको नेतृत्व तहमा पुगेका हुन्।
यसैबीच मन्त्रालयले विभिन्न खेल विधाको प्रतिनिधित्व सुनिश्चित गर्ने उद्देश्यले चार जना बोर्ड सदस्य पनि नियुक्त गरेको छ।
नियुक्त हुनेहरूमा टेबल टेनिस खेलाडी सिक्का सुवाल, पूर्व अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी तथा प्रशिक्षक शक्ति गौचन, बुद्धिचाल खेलाडी मोनालिसा खुम्बु तथा फुटबल खेलाडी पवन शाही रहेका छन्।
शक्ति गौचन केही दिनअघि भएको रुपन्देही क्रिकेट संघको अध्यक्षमा निर्वाचन लडेका थिए। उनी हरि थापासँग पराजित भएका थिए। यसअघिको अधिवेशनमा पनि उनी उनै थापासँग पराजित भएका थिए।
जेठ २८, २०८३ बिहीबार ०९:०१:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।